काठमाडौं, १७ पुस । गत असोज १८ गतेयताको अविरल बर्षा तथा बाढीपहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा ४ अर्ब १९ करोड रुपैयाँ बराबरको ७९९ वटा प्रारम्भिक बीमा दाबी परेको छ, जसमध्ये २०९ वटा दाबीको १९ करोड ६४ लाख रुपैयाँ बीमितहरूलाई भुक्तानी भएको बीमा प्राधिकरणले जनाएको छ ।
निर्जीवन बीमा कम्पनीहरूबाट सम्पत्ति बीमातर्फ ४१९ वटा प्रारम्भिक दाबीको ३ अर्ब ५८ करोड ५४ परेकोमा हालसम्म ५३ वटा बीमा दाबीको १६ करोड ४४ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । त्यस्तै, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ ५२ करोड ३० लाख रुपैयाँ बराबरको १०७ वटा बीमा दाबी परेकोमा हालसम्म ९ वटा दाबीको १ करोड ४० लाख बीमितहरूलाई भुक्तानी भएको छ ।
यसैगरी, कृषि तथा बाली बीमातर्फ २१७ वटा प्रारम्भिक बीमा दाबीको ४ करोड १७ लाख प्रारम्भिक बीमा दाबीमध्ये १२७ वटा दाबीको ५० लाख, मोटर बीमा (निजी) तर्फ ४० वटा दाबीको २ करोड ८२ लाख रुपैयाँ दाबी रकममध्ये १७ वटा दाबीको १ करोड २७ लाख रुपैयाँ र सामुद्रिक बीमातर्फ कूल ४ वटा प्रारम्भिक बीमा दाबीको १० लाख ६५ हजार रुपैयाँ प्रारम्भिक बीमा दाबी रकममध्ये ३ वटा दाबीको ३ लाख २७ हजार रुपैयाँ दाबी रकम बीमितलाई भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।
यस्तै, मोटर बीमा (सार्वजनिक) तर्फ कूल १० वटा दाबीको १ करोड १९ लाख रुपैयाँ र लघुबीमातर्फ कूल २ वटा प्रारम्भिक दाबीको १२ लाख रुपैयाँ प्रारम्भिक बीमा दाबी रकम भुक्तानी हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।