काठमाडौं, १६ पुस । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनले देशको राजनीतिक नेतृत्वलाई गम्भीर रूपमा आत्मसमीक्षा गर्न बाध्य बनाएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय सर्वपक्षीप संवादमा बोल्दै उनले वर्तमान राजनीतिले निर्णायक मोड लिएको बताएका हुन् ।
उनका अनुसार अब नयाँ संकल्प र प्रतिबद्धतासहित जनताको आवश्यकतालाई सम्बोधन गर्ने कि आफ्नो औचित्य सकिएको स्वीकार गर्दै पन्छिने भन्ने निर्णायक अवस्थामा राजनीति पुगेको छ । ’जेनजी आन्दोलनले आत्मसमीक्षा गर्न उत्प्ररित गर्यो । हामी सबैकाअगाडि आत्मसमीक्षा गर्न जरुरी छ,’ उनले भने, ’नयाँ संकल्प र प्रतिबद्धतासहित जनताको अवश्यकतालाई अगाडि बढ्ने वा आफ्नो औचित्य सकियो भनेर पन्छिने अवस्था बनाइदिएको छ ।’
देश गम्भीर संकटको दौरानबाट गुज्रिरहेको चर्चा गर्दै उनले यसको समाधान सर्वपक्षीय सहमति र साझा संकल्पबाट मात्र सम्भव हुने मत व्यक्त गरे । सबै राजनीतिक शक्तिहरू सहकार्यतर्फ उन्मुख हुन थालेको उनले दाबी गरे ।
प्रधानमन्त्रीले देश अन्योलमा नरहेको सन्देश दिन सफल भएको उल्लेख गर्दै प्रचण्डले त्यसका लागि धन्यवाद पनि दिए । उनका अनुसार राजनीतिक दल र जनता निर्वाचन नै उचित मार्ग भएको निष्कर्षमा पुगेका छन् ।
उनले विकास र समृद्धिमा निजी क्षेत्रको भूमिकालाई निर्णायक बताउँदै निजी क्षेत्रप्रति राज्यको दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गरे । प्रोत्साहन बिना आर्थिक प्रगति सम्भव नहुने उनको तर्क छ । शान्ति, स्थायित्व र समृद्धि आजको मुख्य आवश्यकता भएको उल्लेख गर्दै प्रचण्डले यसका लागि निर्वाचन सम्पन्न गरी आगामी सरकारले संविधान संशोधनमार्फत दीर्घकालीन समाधान खोज्नुपर्ने बताए ।