काठमाडौं, ११ पुस । काठमाडौंको कमलपोखरीस्थित रसियन हाउसमा मंगलबार साँझ ‘रिफ्लेक्सन–२०२५’ फोटो प्रदर्शनी तथा नयाँ वर्ष स्वागत समारोह भव्य रूपमा सम्पन्न भएको छ । साँझ ४ बजेदेखि ६ बजेसम्म आयोजना गरिएको कार्यक्रममा कूटनीतिज्ञ, सांस्कृतिक अभियन्ता, विद्वान्, सञ्चारकर्मी तथा नेपाल–रुस मैत्रीका शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको औपचारिक उद्घाटन परम्परागत पानस बत्ती प्रज्वलन गरी रुस संघीय गणराज्यको नेपालस्थित दूतावासका मिनिस्टर–काउन्सिलर (चार्ज डि अफेयर्स) आन्द्रे युरेभिच किसेलेन्कोले गरेका हुन् । उद्घाटन समारोहमा रसियन हाउसकी निर्देशक अनास्तासिया खोखलोभा तथा मित्रकुञ्ज, नेपाल–रुस साहित्य समाज (एनआरएलएस), नेपाल–रुस मैत्री तथा सांस्कृतिक संघ (एनआरएफसीए) र नेपाल–रुस विज्ञान समाज (एनआरएससी)का अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि किसेलेन्कोले नेपाल–रुस सम्बन्ध सुदृढ बनाउन सांस्कृतिक आदान–प्रदान तथा जनस्तरको सम्बन्धको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । भाषा, साहित्य, विज्ञान तथा संस्कृतिको प्रवद्र्धनमार्फत दुई देशबीच सहकार्य विस्तार गर्न रुस हाउस र साझेदार संस्थाहरूले खेलेको भूमिकाको प्रशंसा उनले गरे ।
मित्रकुञ्जकी अध्यक्ष सुष्मा खत्रीले निरन्तर सांस्कृतिक संवादको महत्व औंल्याइन् भने नेपाल–रुस साहित्य समाजका अध्यक्ष विष्णुबहादुर सिंहले साहित्य र साझा सांस्कृतिक धरोहरले आपसी समझदारी अभिवृद्धि गर्ने धारणा व्यक्त गरे । नेपाल–रुस मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष राजेन्द्र अधिकारीले नेपाल र रुसबीचको दीर्घकालीन मित्रता थप गहिरो बनाउन सांस्कृतिक तथा सामाजिक सहकार्य आवश्यक रहेको बताए ।

रसियन हाउसकी निर्देशक अनास्तासिया खोखलोभाले अतिथिहरूलाई स्वागत गर्दै ‘रिफ्लेक्सन–२०२५’ प्रदर्शनीलाई वर्षभरिका महत्वपूर्ण क्षण, साझेदारी र उपलब्धिहरूको दृश्य अभिलेखका रूपमा प्रस्तुत गरिएको बताइन् । उनका अनुसार प्रदर्शनीले विगत वर्षको समीक्षा मात्र होइन, आगामी सहकार्यका लागि प्रेरणा पनि प्रदान गर्दछ ।
कार्यक्रमको समापन नेपाल–रुस विज्ञान समाजका अध्यक्ष गणेश शाहको समापन मन्तव्यसँगै भएको थियो । उनले दुई देशबीचको सम्बन्ध सुदृढ गर्न विज्ञान र शिक्षाको भूमिकामा जोड दिए ।

यस अवसरमा आयोजक संस्थाहरूले अनाथालयका बालबालिकाका लागि जाडो लुगा खरिद गर्न सहयोग जुटाउने उद्देश्यले परोपकारी अभियानको घोषणा पनि गरेका थिए । अतिथिहरूलाई स्वेच्छिक योगदान गर्न आग्रह गरिएको थियो ।
यस कार्यक्रमले मैत्री, संस्कृति र शान्तिपूर्ण तथा समृद्ध नयाँ वर्ष २०२६ का साझा अपेक्षासहित वर्षको अर्थपूर्ण समापन गरेको आयोजकहरूले बताएका छन् ।