काठमाडौं, २६ कात्तिक । बागमती प्रदेशका होटलहरूमा बसोबास दर (अकुपेन्सी) बढेको छ ।
नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार गत आर्थिक वर्ष (आव) २०८१/८२ मा होटलको औसत अकुपेन्सी दर ५७ प्रतिशत पुगेको छ । यो अघिल्लो आव २०८०/८१ को तुलनामा ५ दशमलव १ प्रतिशत वृद्धि हो । सो आवमा यस्तो अकुपेन्सी ५१ दशमलव ९ प्रतिशत रहेको थियो ।
प्रतिवेदनमा अनुसार विदेशी पर्यटकसँगै आन्तरिक यात्रुहरूको संख्यामा आएको वृद्धि होटल, रेस्टुरेन्ट र ट्रेकिङ क्षेत्रलगायतका पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पार्दै आएको छ ।
मासिक विवरण अनुसार साउन, भदौ र कात्तिक महिनामा होटलको अकुपेन्सी दर धेरै बढेको देखिन्छ । अघिल्लो आव २०८०/८१ मा साउनमा ३४ प्रतिशत अकुपेन्सी रहेकोमा गत आवमा ४७ प्रतिशत पुगेको छ । त्यस्तै गत आवको भदौमा ५९ प्रतिशत र कात्तिकमा ६७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
