• ताजा समाचार, शिक्षा तथा संस्कृति

    उमंगका साथ होली मनाईँदै- सुरक्षा व्यवस्था कडा

     111 Views
    उमंगका साथ होली मनाईँदै- सुरक्षा व्यवस्था कडा

    चैत ६ , काठमाडौं । हिमाली र पहाडी जिल्लाहरुमा बुधबार हर्षोल्लास र उमंगका साथ होली पर्व मनाइँदैछ । तराई मधेसका जिल्लामा भने भोलिपल्ट होली मनाईने चलन छ । यी दुवै दिनहरुमा सरकारले क्रमशः सार्वजनिक विदा दिएको छ । विभिन्न रङ, अबिर र लोला खेलेर होली मनाउने परम्परा छ । आपसमा खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ । होली पर्वलाई मेलमिलाप र सदभावको पर्वको रुपमा पनि लिइन्छ ।

    बसन्त ऋतुसँगै आउने होली हरेक वर्ष फागुन शुल्क पूर्णिमाको दिन मनाइन्छ । शुल्क पूर्णिमाभन्दा एक साता अगाडि काठमाडौंको वसन्तपुरमा चीर ठड्याएपछि होली सुरु भएको मानिन्छ । रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको तीनतले चीर होली पूर्णिमाको भोलिपल्ट जलाइन्छ । होली पर्व असत्यमाथि सत्यको विजय उत्सवको रूपमा रङ दलेर मनाउने गरिएको धार्मिक मान्यता छ । आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्दार भएको धार्मिक कथनसँग जोडेर यो पर्व मनाउने गरिएको बताइन्छ ।

    पर्वलाई धुमधामसँग मनाउन विभिन्न क्लब, सञ्चार घर तथा संघ संस्थाले विभिन्न ठाउँमा होली विशेष कार्यक्रमको तयारी गरेका छन् । यसै गरी पर्वका क्रममा कुनै घटना नहोस् भनेर होलीलाई मर्यादित र सभ्य बनाउन प्रहरी सक्रिय छ । विगतका वर्षजस्तो यस वर्ष होली पूर्णिमाको एक साता अगाडि देखि नै सडकमा हिँड्नेहरुलाई लोला हान्ने क्रम रोकिएको छ । दुर्घटनारहित होली बनाउने उद्देश्यले ट्राफिक प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा २२५० जना प्रहरी, २२ वटा मोबाइल भ्यान, ४६ वटा सि.आर.बि. टोली र उपत्यकाका ७७ स्थानमा जाँचको व्यवस्थासमेत मिलाएको छ । सवारीका छतमा बसेर होली खेल्नमा पनि पुर्णतया बन्देज लगाइएकोछ ।

    यसमा तपाइको मत

    Facebook Comment