काठमाडौं, १२ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासंघलाई वार्तामा आउन पुनः आग्रह गरेको छ ।
नवनियुक्त शिक्षा मन्त्री पन्तले शुक्रबार विज्ञप्ति निकालेर आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि सरकारको तर्फबाट आह्वान गरेका हुन् ।
‘विधेयक संसदमा पेश हुने, छलफल हुने र स्वीकृत हुने निश्चित विधायकी एवम् कानूनी बन्दोबस्त रहेका छन् र सबैलाई यसको जानकारी पनि छर्दैछ । तसर्थ, शिक्षकहरुसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट हार्दिक आह्वान गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।’
सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले गर्दै आएको आन्दोलनप्रति मन्त्रालयको ध्यानाकर्षण भएको मन्त्री पन्तले बताएका छन् । विद्यालय शिक्षा विधेयक निर्दिष्ट समयमा पारित गर्ने वातावरण सिर्जना गर्दै शिक्षकहरूको हकहित प्रवद्र्धन गरी उपयुक्त निकास निकाल्न मन्त्रालय सदैव प्रयत्नशील रहेको उनको भनाइ छ । विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने शिक्षक तथा कर्मचारीको चासो र अपेक्षा रहनु स्वाभाविकै रहेको मन्त्रालयले जनाएको छ ।
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै चैत २० गतेदेखि शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन गर्दै आएका छन् । साथै बिहीबार सर्वोच्च अदालतले पनि शिक्षकहरूका माग सम्बोधन गरी तीन दिनभित्र शिक्षकहरूलाई विद्यालय फर्कने वातावरण बनाउन सरकारलाई आदेश दिएको छ ।
