काठमाडौं, ११ वैशाख । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आगामी वैशाख १७ गते पार्टी एकता हुने भएको छ ।
जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले आगामी १७ वैशाखमा एकता घोषणा गर्नेगरी तयारी अघि बढाइएको जानकारी गराएको छ । सचिवालयले भनेको छ, ‘नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदैछ ।’
अध्यक्ष राउतले एकताको घोषणा गर्दै अब दुई पार्टी मजबुत भएर अगाडि जाने बताए । ‘जनताको भावना र आकांक्षा एकता भएकोले हामी एकताको लागि अगाडि बढने नै छौँ, एकता हुन्छ नै,’ उलने भनेका छन्, ‘यही वैशाख १७ गते जनमत पार्टी र नागरिक उन्मुक्तिबीच घोषणाको तयारी गर्दैछौँ ।’
यस्तै उनले यसअघि नै पार्टी एकता गर्ने भनिए पनि अरूहरूले परिवारमा झगडा लगाएर फुट ल्याएर, पार्टी भित्रैका पदाधिकारीहरूमाथि पैसा, गाडी, साधनस्रोत प्रयोग गरेर एकता भाँड्न खोजेको आरोप लगाएका छन् । ‘नानाभाँती समाचार लेखाएर बदनाम गर्दै चरित्र हत्या गर्दै निरूत्साहित गर्न होस्, कि कहिले धर्म त कहिले जातिको नाममा आक्रमण गराएर होस्, कि पार्टी फुटाइदिने षड्यन्त्र होस्, कि केन्द्रीय सदस्य र सांसदहरू नै खरिद गरिदिने प्रपञ्च होस्, कि मलाई ज्यान मार्ने वा रेशमजीलाई पुनः पक्राउ गराइदिने धम्की होस्, कुनै पनि कसर बाँकी राखेका छैनन्,’ उनले भने।