काठमाडौं, ४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
राजसंस्था पुनःस्थापना तथा आफ्ना नेताहरूको रिहाइको मागसहित प्रदर्शन गर्न लागिएको जानकारी दिंदै उनले भने, ‘वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शनको कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।’
वैशाख २० गतेभित्र आफ्ना नेताहरू निःशर्त रिहा नगरे अन्दोलन चर्काउने समेत चेतावनी दिएको छ ।
बैठकले राप्रपाका सबै आन्दोलनसँग सम्बन्धित कार्यक्रमहरूलाई व्यवस्थित गर्न एउटा विशेष कमिटी समेत बनाउने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।