काठमाडौं, ४ चैत । अखिल नेपाल फुटबल संघ (एन्फ)का पूर्व अध्यक्ष गणेश थापाको प्रतिवन्ध फुकूवा भएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्ध सकिएको भएको थापाले बिहीबार आफै विज्ञप्ती जारी गर्दै जानकारी दिएका छन् ।
फिफाले सन् २०१५ अप्रिलमा थापालाई १० वर्षसम्म फुटबलसम्बन्धि कुनै पनि गतिविधिमा संलग्न हुन प्रतिबन्ध लगाएको थियो । भ्रष्टाचार गरेको तथा घुस लिएकोसहित विभिन्न धाराहरू उल्लंघन गरेको फिफाको अनुशासन समितिको ठहर गरेपछि थापालाई फिफाले प्रतिबन्ध गरेको थियो ।
आफूमाथि लगाएको उक्त प्रतिबन्ध यही बैशाख २ गते (अप्रिल १५) मा सकिएको उनले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।
थापाले विज्ञप्तिमा भनेका छन्, ‘म माथि लगाइएको प्रतिबन्ध फुकुवा भएको जानकारी गराउन चाहन्छु । फिफाले सन् २०१५ को १६ अप्रिलमा प्रतिबन्ध लगाएको थियो । त्यो २०२५ को अप्रिल १५ मा आएर टुंगिएको छ ।’
प्रतिबन्धमा परेको यो १० वर्ष नै चुनौती पूर्ण भएको थापाले उल्लेख गरेका छन् । ‘कठिन दस वर्षे अवधिपश्चात्, मेरो फुटबल सम्बन्धित सबै गतिविधिबाट भएको निलम्बन अब समाप्त भएको छ। यो यात्रा चुनौतीपूर्ण थियो, तर यस अवधिमा मेरो परिवार, साथीहरू, शुभचिन्तकहरू र समस्त फुटबल प्रेमीहरूले गर्नुभएको सहयोग र अटल समर्थनको लागि म धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु, विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै पूर्वअध्यक्ष थापाले नेपाली फुटबलको विकास र विस्तारमा आफ्नो साथ र सहयोग सधैँ रहने उल्लेख गरेका छन् ।
नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी देखि पूर्वकप्तान समेत रहेका थापाले एसियाली फुटबल महासंघ (एएफसी)का उपाध्यक्ष, दक्षिण एसियाली फुटबल महासंघ (साफ)को अध्यक्ष, एएफसी च्यालेन्ज कप र प्रेसिडेन्ट्स कपको अध्यक्ष, फिफाका विभिन्न समितिमा रहेर काम गरेका थिए ।
