के हो मनसुन आगमन लम्ब्याउने एलनिनो प्रणाली ?, कस्तो पर्छ प्रभाव ?

अनलाइनसमय |
२ असार २०८३
के हो मनसुन आगमन लम्ब्याउने एलनिनो प्रणाली ?, कस्तो पर्छ प्रभाव ?

काठमाडौं, २ असार । प्रशान्त महासागरमा विकसित भएको ‘एलनिनो’ प्रणालीका कारण यस वर्ष नेपालमा मनसुन भित्रिन केही दिन ढिला हुने भएको छ ।

नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ भए तापनि हालसम्म मनसुन भित्रिएको छैन । ‘एलनिनो’ प्रणाली अझै बलियो बन्दै गएकाले नेपालसहित दक्षिण एसियाकै मनसुन कमजोर हुन सक्ने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अघिल्लो वर्ष सरदरभन्दा १५ दिन अगावै नेपालमा मनसुन आएको थियो । एलनिनो भएको वर्ष नेपालमा ढिला मनसुन भित्रिएको विभागले बताएको छ ।

हाल देशमा पश्चिमी वायुको सक्रियताका साथै स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण विशेषगरी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रहरूमा मेघ गर्जनसहित मध्यम वर्षा भइरहेको छ ।

विगतका वर्षहरूमा पनि एलनिनोको प्रभावका कारण मनसुन आगमन ढिलो भएको तथ्याङ्क छ ।

स्रोत :जल तथा मौसम विज्ञान विभाग

के हो एलनिनो प्रणाली ?
एलनिनो प्रणाली प्रशान्त महासागरको मध्य तथा पूर्वी भागमा समुद्री सतहको तापक्रम असामान्य रूपमा बढ्ने प्राकृतिक जलवायु घटना हो । यो एलनिनो–दक्षिणी दोलन नामक जलवायु चक्रको एक चरण हो । सामान्य अवस्थामा, प्रशान्त महासागरमा चल्ने हावाले तातो पानीलाई पूर्व (दक्षिण अमेरिका) बाट पश्चिम (एशिया र अष्ट्रेलिया) तर्फ धकेल्छ । यी हावाहरू कमजोर हुन्छन् वा विपरीत दिशामा चल्न थाल्छन्, जसले गर्दा भूमध्यरेखा आसपासको मध्य र पूर्वी प्रशान्त महासागरको सतहको पानी सामान्यभन्दा बढी तातो हुन पुग्छ । महासागरको तापक्रममा आउने यो परिवर्तनले विश्वको मौसमको ढाँचा नै बदलिदिन्छ ।

सामान्य अवस्थामा प्रशान्त महासागरमा पूर्व (दक्षिण अमेरिका) बाट पश्चिम (एसिया र अष्ट्रेलिया) तर्फ हावा बहन्छ । यो हावाले समुद्रको माथिल्लो भागको तातो पानीलाई बगाएर एसियातर्फ ल्याउँछ । साथै जसका कारण हाम्रो वरपरको समुद्र तातो हुन्छ र जलवाष्पयुक्त बादल बनेर नेपालसहित दक्षिण एसियामा समयमै र राम्रो मनसुनी वर्षा गराउँछ ।

तर, एलनिनो सुरु भएपछि समुद्रमा बहने त्यो नियमित हावा एकदमै कमजोर हुन्छ वा उल्टो दिशामा बग्न थाल्छ । हावा कमजोर भएपछि तातो पानी एसियातर्फ आउन पाउँदैन र दक्षिण अमेरिकातिरै (पूर्वी प्रशान्त महासागरमा) रोकिन्छ । यसले गर्दा बादल बन्ने र पानी पर्ने नियमित चक्र नै उल्टो हुन पुग्छ ।

एलनिनो सक्रिय हुँदा नेपाल र भारत लगायतका देशहरूमा मनसुन ढिला भित्रिने मात्र नभई औषतभन्दा कम वर्षा हुने (खडेरी पर्ने) सम्भावना बढ्छ भने कतै अत्याधिक बाढी र आँधीबेहरी आउने सम्भावना हुन्छ । नेपालमा यसले कृषि उत्पादन, जलस्रोत र दैनिक जनजीवनमा असर पार्न सक्छ । एलनिनो वर्षहरूमा विश्वव्यापी तापक्रम बढ्ने र अत्यधिक गर्मी महसुस हुने गर्दछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस