नेपाल–भारतबीच एआई सहकार्यका सम्भावनाबारे काठमाडौंमा विशेष संवाद

अनलाइनसमय |
३१ जेठ २०८३
नेपाल–भारतबीच एआई सहकार्यका सम्भावनाबारे काठमाडौंमा विशेष संवाद

काठमाडौं, ३१ जेठ । नेपाल र भारतबीच उदाउँदा प्रविधिहरूमा साझेदारी बढाउने र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का क्षेत्रमा द्विपक्षीय अवसरहरू खोज्ने उद्देश्यले काठमाडौँमा एक विशेष सेमिनार आयोजना गरिएको छ ।

नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआइसीसीआई)ले नेपालस्थित भारतीय दूतावासको सहकार्यमा काठमाडौँमा ‘उदीयमान प्रविधिमा नेपाल–भारत साझेदारी ः एआई सहकार्यका लागि द्विपक्षीय अवसरहरूको खोजी’ विषयक एक विशेष कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा दुवै देशका व्यवसायी, सरकारी प्रतिनिधि, प्राज्ञिक क्षेत्र र स्टार्टअपहरूका प्रतिनिधिहरूको ठुलो सहभागिता थियो ।

कार्यक्रममा दक्षिण एसियाकै अग्रणी फुल–स्ट्याक जेनेरेटिभ एआई र स्थानीय भाषाको एआई प्रणाली निर्माता कम्पनी ‘सर्भम एआई’ का सह–संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत डा. प्रत्युष कुमारले मुख्य मन्तव्य राख्नुभएको थिए ।

कार्यक्रमअघि डा. कुमारले नेपालको प्रविधि र लगानी क्षेत्रका प्रतिनिधिहरू— डेटा वल्र्ड, बिचुटेन, गोल्छा इन्डस्ट्रिज, स्पार्क ग्रुप र स्प्यारो एसएमएसका प्रतिनिधिहरूसँग डिजिटल पूर्वाधार, एआई र उदीयमान प्रविधिमा रहेका अवसरहरूबारे छलफल गरेका थिए ।

स्वागत मन्तव्यका क्रममा एनआइसीसीआईका अध्यक्ष सुनील केसीले नेपाल र भारतबीच प्रविधिमा आधारित आर्थिक सहयोगलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए । उनले ‘सर्भम एआई’ लाई नेपालमा आफ्नो उपस्थिति विस्तार गर्न र यहाँका सार्वजनिक तथा निजी क्षेत्रसँग साझेदारीका हात अगाडि बढाउन आग्रह गरे । यस्ता सहकार्यले विश्वका अग्रणी प्रविधि कम्पनीहरूबाट नेपालमा थप लगानी आकर्षित गर्न मद्दत गर्ने र नवप्रवर्तन, ज्ञान हस्तान्तरण एवं रणनीतिक प्रविधि साझेदारीका माध्यमबाट नेपालको प्रत्यक्ष वैदेशिक लगानीको खाडललाई पुर्न सघाउने विश्वास अध्यक्ष केसीले व्यक्त गरे ।

नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव (वाणिज्य) सुमन शेखरले यस सत्रलाई भारत–नेपाल आर्थिक सहयोगको बृहत्तर सन्दर्भसँग जोड्दै डिजिटल क्षमता अभिवृद्धि, स्टार्टअपहरूलाई सहयोग र उदीयमान प्रविधिहरूमा ज्ञान आदानप्रदान गर्ने साझा हितका विषयहरूमा पारेका थिए । उनले एआई र नवप्रवर्तनको क्षेत्रमा भारतीय र नेपाली सरोकारवालाहरूबीचको सहकार्यलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

यस अन्तर्गत नेपालका २५ वटा स्टार्टअपहरू चेन्नाईस्थित आईआईटी मद्रास प्रवर्तक टेक्नोलोजी फाउन्डेसनमा ८ हप्ताको पूर्ण–वित्तपोषित तालिम र नवप्रवर्तन कार्यक्रममा सहभागी भइरहेका छन् । यसअघिको पहिलो संस्करणमा नेपालका ९ वटा स्टार्टअपले आईआईटी मद्रासबाट इन्क्युबेसन अफर प्राप्त गरिसकेका छन् ।

आफ्नो प्रस्तुतिमा डा. कुमारले ठुला भाषा मोडेलहरू (एलएलएम) सहित एआईको विकास र यसले एआईको प्रारम्भिक चरणमा रहेका देशहरूमा पार्ने प्रभावबारे चर्चा गरे । उनले नयाँ दिल्लीमा भएको एआई इम्प्याक्ट समिटका सिकाइ र भारत एआई मिसनका ७ वटा स्तम्भहरू (कम्प्युट, डाटासेट्स, इनोभेसन, एप्लिकेसन डेभलपमेन्ट, फ्युचर स्किल्स, स्टार्टअप फाइनान्सिङ, र सेफ एन्ड ट्रस्टेड एआई) बारे प्रकाश पारे ।

इन्टरनेट र प्रविधिको पहुँचभन्दा बाहिर रहेका समुदायसम्म पुग्न ‘स्पीच टु टेक्स्ट’ (बोलाईलाई लेखाइमा बदल्ने) मोडेलको महत्त्व, डाटा सार्वभौमसत्ता र स्वदेशी प्रतिभाको विकास जस्ता व्यावहारिक पक्षमा उनले जोड दिए । नेपालको स्टार्टअप समुदाय र प्राज्ञिक संस्थाहरूले यस दिशामा कदम चाल्न सक्ने भन्दै उनले संयुक्त अनुसन्धान र तालिम कार्यक्रममार्फत नेपाल–भारत सहकार्यलाई ठोस रूप दिन सकिने औँल्याए । उनले संयुक्त अनुसन्धान पहल, तालिम कार्यक्रम र स्टार्टअप इकोसिस्टम आदानप्रदानलाई नेपाल–भारत एआई सहकार्यका सम्भावित क्षेत्रका रूपमा पहिचान गरे ।

युनिभर्सिटी अफ नेपालका चान्सलर डा. विन्दुनाथ लोहनीले भविष्यका प्रतिभाहरू तयार गर्न, अनुसन्धानलाई अगाडि बढाउन र नेपालको दीर्घकालीन नवप्रवर्तन एजेन्डालाई सहयोग गर्न उच्च शिक्षा संस्थाहरूको भूमिकाबारे विशेष सम्बोधन गरे । उनले विद्यार्थी र अनुसन्धानकर्ताहरूलाई एआई–संचालित विश्वका लागि तयार गर्न उद्योग र एकेडेमिया (उद्योग–अकादमिक) बीचको सहकार्यमा जोड दिए ।

कार्यक्रमको अन्तक्र्रियात्मक सत्रमा सहभागीहरूले व्यवसायहरूमा एआईको प्रयोग, प्रतिभा विकास, जिम्मेवार एआई सुशासन, स्थानीय भाषाका प्रविधि र क्षेत्रीय सहकार्यका अवसरहरू जस्ता विषयमा प्रश्नहरू उठाएका थिए । यो छलफलले उत्पादकत्व, प्रतिस्पर्धात्मकता र आर्थिक वृद्धिलाई बढावा दिन नेपालले कसरी एआईको उपयोग गर्न सक्छ भन्नेमा सरोकारवालाहरूको गहिरो चासो रहेको देखाएको एनआइसीसीआईले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस