काठमाडौं, २७ वैशाख । संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली राजदूतावासले आबुधावीमा कार्यरत नेपाली श्रमिकलाई लक्षित गरी श्रम सचेतना तथा सुरक्षित रोजगारीसम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ ।
श्रमिकहरुका विद्यमान समस्याहरुका बारेमा प्रत्यक्ष छलफल गर्ने उद्देश्यले राजदूतावास परिसरमा आयोजित उक्त कार्यक्रममा अबुधाबी इमिरेट्सका विभिन्न कम्पनीमा काम गर्ने नेपाली श्रमिकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा राजदूतावासका श्रम सहचारी पङ्कज लामिछानेले श्रमिकका हकअधिकार र सुरक्षासम्बन्धी विषयमा प्रस्तुति दिएका थिए । उनले श्रमिकहरूको हक, अधिकार र सुरक्षा सम्बन्धी विषयहरु, कम्पनीमा काम गर्दा पालन गर्नुपर्ने कम्पनीका नियमहरु, वैदेशिक रोजगारीमा आउँदा अपनाउनु पर्ने सावधानी, श्रम स्वीकृति नवीकरण, सामाजिक सुरक्षा कोषको प्रयोग, नेपाल सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि उपलब्ध गराएको सुविधाका बारेमा जानकारी गराएका थिए ।
यस्तै, उनले श्रमिकहरूलाई आफ्नो राहदानी, इमिरेट्स आइडी, लेबर कार्ड तथा अन्य व्यक्तिगत कागजातहरू सुरक्षित राख्न र साइबर अपराध, आर्थिक ठगी तथा व्यक्तिगत विवरणको दुरुपयोगबाट बच्न सचेत गराएका थिए ।
उनले विदेशमा हुने खोजतलास, उद्धार, मृत्यु व्यवस्थापन, क्षतिपूर्ति, श्रमिक सहायता लगायतका सेवासम्बन्धी निवेदनहरू नेपाल सरकारको कन्सुलर सेवा विभागद्वारा सञ्चालन गरिएको पोर्टलमार्फत आवेदन दिँदा प्रक्रिया सहज, व्यवस्थित तथा छिटोछरितो हुने भएकोले राजदूतावासले सबैलाई अनलाइन पोर्टलमा निवेदन दर्ता गर्न आग्रह गरे ।

यसैगरी, कार्यक्रममा राजदूतावासका तृतीय सचिव विमलेश कुमार मिश्रले राहदानी तथा कन्सुलर सेवासम्बन्धी विविध जिज्ञासाहरूलाई सम्बोधन गरेका थिए ।
राजदूतावासद्वारा आयोजित कार्यक्रमको स्वागत गर्दै सहभागीहरुले यस्ता कार्यक्रमहरु महिनाको एक पटक नियमित रुपमा गर्न सुझाव दिएका थिए । उनीहरुले न्यूनस्तरको तलबमा काम गर्नु परेको गुनासो राख्दै न्यूनतम पारिश्रमिक तथा श्रम मापदण्ड निर्धारण गर्न र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको श्रम, सीप र योगदानको उचित सम्मान तथा संरक्षण गर्न आवश्यक पहल गर्नुपर्ने सुझाव राखेका थिए ।
उक्त कार्यक्रममा नेपाली समुदायका तर्फबाट दैनिक जीवन तथा कार्यस्थलमा हुनसक्ने आकस्मिक घटनामा कसरी प्राथमिक उपचार गर्न सकिन्छ भन्नेबारे ँष्चकत ब्ष्म सम्बन्धी व्यवहारिक जानकारी समेत गराइएको थियो ।
सो कार्यक्रममा महामहिम राजदूत लगायत राजदूतावासका कूटनीतिक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
