काठमाडौं, २७ फागुन । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को सात महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जाने विद्यार्थी मार्फत ठुलो धनराशि बिदेसिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विवरण अनुसार शिक्षातर्फको व्यय रु ६४ अर्ब १५ करोड बराबर पुगेको छ । गत वर्षको यसै अवधिको तुलनामा भने शिक्षाका नाममा विदेसिने रकम घटेको देखिन्छ । गत आवको माघसम्ममा उच्च शिक्षाका लागि विदेशी मुलुक जाने विद्यार्थी मार्फत ६६ अर्ब ६४ करोड रुपैयाँ बाहिरिएको थियो ।
चालू आवको माघसम्ममा सेवा खाता अन्तर्गत भ्रमण व्यय १० दशमलव ६ प्रतिशतले वृद्धि भई १ खर्ब १५ अर्ब ८८ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ६४ अर्ब १५ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १ खर्ब ४ अर्ब ७५ करोड रहेकामा शिक्षातर्फको व्यय रु ६६ अर्ब ६४ करोड थियो ।
राष्ट्र बैंकका अनुसार सेवा खाता अन्तर्गत चालू आवको माघमा भ्रमण आय ७ दशमलव ७ प्रतिशतले वृद्धि भई ४९ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४५ अर्ब ६८ करोड रहेको थियो ।
चालू आवको माघमा खुद सेवा आय ५० अर्ब २२ करोड रुपैयाँले घाटामा रहेको छ । गत आवको सोही अवधिमा खुद सेवा आय ३६ अर्ब ३८ करोड रुपैयाँले घाटामा थियो ।