काठमाडौं, ६ असार । उपसभामुख इन्दिरा रानाले रैथाने खाद्यान्नहरुको प्रवर्द्धन गर्न आवश्यक रहेको बताएकी छन् ।
बिहीवार काठमाडौंमा ग्यास्ट्रोनोमी टुरिजम एशोसिएशन अफ नेपालले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण रैथाने बालीहरु मासिँदै गएको बताइन् ।
उनले भनिन्, ‘अहिले आधुनिकतामा ढल्किने हिसावले विभिन्न रोगहरु निम्त्याइरहेका छौँ । हामीमा भएका कयौँ रैथाने पौष्टिक आहाराहरुलाई हामीले बिर्सिरहेका छौँ । सरकारले रैथाने खानेकुरालाई प्रवर्द्धन गर्नुपर्छ ।’
‘हाम्रा हिमाल र पहाडहरुमा रैथाने खानेकुरा उत्पादन हुन्थ्यो, आज जलवायु परिवर्तले स्थानीय खानेकुरा लोप भइरहेका छन् । हामीले पर्यटकहरुलाई हाम्रो खानेकुरा खुवाउनुपर्छ । हामीले कसरी त्यहाँका स्थानीय खानेकुराको उत्पादन वृद्धिका लागि एउटा छलफलबाट कानून बनाइ कार्यान्वयन गर्न आवश्यक छ ।’ उनले भनिन् ।
कार्यक्रममा बोल्दै होटल संघका अध्यक्ष विनायक शाहले ग्यास्टोनोमि टुरिजमको विकास गर्न आवश्यक रहेको बताए । उनले रैथाने खानेकुराको प्रवर्द्धन गरे मात्रै स्थानीय बालीहरुको संरक्षण गर्न सकिने बताए ।
उनले भने, ‘ग्यास्टोनोमि टुरिजमको विकास गर्नुपर्छ । रैथाने खानेकुराको प्रवर्द्धन गर्नुपर्छ । झन्डै ५ हजार होटलहरु रैथाने खानेकुराको प्रवर्द्धनमा लागेका छौँ । हामी सबै मिलेर अघि बढ्नुपर्छ, हामी सहकार्य गर्न तयार छौँ ।’