साउदी अरेबियामा भएको आक्रमणमा एक नेपालीको मृत्यु, तीन जना घाइते

अनलाइनसमय |
११ मंसिर २०८३
साउदी अरेबियामा भएको आक्रमणमा एक नेपालीको मृत्यु, तीन जना घाइते

काठमाडौं, ११ मंसिर । साउदी अरबमा भएको हवाई आक्रमणमा एक नेपाली कामदारको मृत्यु भएको छ भने अन्य तीन जना नेपाली घाइते पनि भएका छन् ।

परराष्ट्र मन्त्रालयले बिहीबार साँझ सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको पुष्टि गरेको हो । मन्त्रालयका अनुसार घाइते भएका तीन नेपालीमध्ये एक जना उपचारपछि निको भइसकेका छन् भने अन्य दुई जनाको हाल उपचार भइरहेको छ । मृतक तथा घाइतेहरूको परिचय भने मन्त्रालयले खुलाएको छैन ।

घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मन्त्रालयले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

यसैगरी, साथै मन्त्रालयले आक्रमणको निन्दा गरेको छ । मन्त्रालयले कुनै पनि बहानामा सर्वसाधारण नागरिक र सार्वजनिक पूर्वाधारहरूलाई निशाना बनाइन नहुने स्पष्ट पारेको छ । विवाद समाधान र द्वन्द्व निरूपणका लागि अधिकतम संयमता अपनाउन तथा शान्तिपूर्ण माध्यमहरू अवलम्बन गर्न नेपालले सम्बन्धित सबै पक्षलाई आह्वान समेत गरेको छ ।

यसअघि गत नोभेम्बर २४ मा साउदीको रियादस्थित किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टको एक टावरमा भएको आक्रमणमा ३ नेपालीसहित ११ जना घाइते भएका थिए । सो आक्रमण यमनको हुथी विद्रोही समूहले गरेको साउदी अधिकारीहरूले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस