नास–आईटी एक्स्पो सम्पन्न, स्वदेशी प्रविधि र अमेरिकी बजार विस्तारमा जोड

अनलाइनसमय |
७ मंसिर २०८३
नास–आईटी एक्स्पो सम्पन्न, स्वदेशी प्रविधि र अमेरिकी बजार विस्तारमा जोड

काठमाडौं, ७ मंसिर । नेपालको सूचना प्रविधि क्षेत्रको क्षमता, नवप्रवर्तन र व्यावसायिक सम्भावनालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले आयोजित ‘नास–आइटी एक्स्पो’ उत्साहजनक सहभागिताका साथ सफलतापूर्वक सम्पन्न भएको छ ।

आयोजक नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी)का अनुसार एक्स्पोमा ७ वटा विभिन्न प्रविधि तथा सेवा क्षेत्रको प्रतिनिधित्व गर्ने ३१ वटा स्टलहरू राखिएका थिए । प्रदर्शनीको समग्र अवधिमा ४ हजारभन्दा बढी अवलोकनकर्ताले प्रत्यक्ष भ्रमण गरी स्वदेशी प्रविधि सेवा, सफ्टवेयर समाधान र डिजिटल नवप्रवर्तनबारे जानकारी लिए ।

यसपटकको एक्स्पोमा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता त रह्यो नै, अझ विशेष रूपमा विद्यार्थीभन्दा पनि बैंकिङ क्षेत्र, कर्पोरेट निकाय र विभिन्न उद्योगका पेशाकर्मीहरूको बाक्लो उपस्थिति देखिएको आयोजकले जनाएको छ । यसले प्रविधि प्रदर्शनीलाई प्रत्यक्ष व्यावसायिक सञ्जाल विस्तार र सहकार्यको प्रभावकारी थलोका रूपमा स्थापित गरेको छ ।

कार्यक्रममा सरकारी तथा राजनीतिक नेतृत्वको समेत चासो र उपस्थिति रहेको थियो । एक्स्पोमा सभामुख डीपी अर्याल, राजनीतिज्ञ सुमना श्रेष्ठलगायत सरकारी तथा नीतिगत तहका विशिष्ट व्यक्तित्वहरूले अवलोकन गर्दै नेपालको सूचना प्रविधि उद्योगको विकास र प्रवद्र्धनमा सकारात्मक ऊर्जा थपेका थिए ।

एक्स्पोअन्तर्गत आयोजित सारगर्भित प्यानल छलफलहरूमा विज्ञ सहजकर्ताहरूको संयोजनमा नेपालको सूचना प्रविधि क्षेत्रको वर्तमान अवस्था, डिजिटल रूपान्तरण र उद्योग–नीति सहकार्यका विषयमा सरोकारवालाबीच विमर्श गरिएको थियो ।

नेपाली प्रविधि कम्पनीलाई अमेरिकी बजारमा विस्तार गर्ने अवसर र स्वदेशमै प्रविधि उत्पादन तथा सेवाको प्रयोग बढाउने विषयमा प्यानलमा घनिभुत छलफल भएको थियो ।

नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी) ले ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शनिबार र आइतबार आयोजना गरेको एक्स्पोको दोस्रो दिन ‘सेलेक्ट यूएसए’ र ‘बिल्डिङ फ्रम विथ इन स्ट्रेन्ज्थेनिङ्ग नेपाल्स डिजिटल इकोनमी नेपाल्स टेक इकोसिस्टम’ शीर्षकमा प्यानल छलफल भएका थिए । दुवै छलफलमा नेपाली प्रविधि कम्पनीको अन्तर्राष्ट्रिय बजार प्रवेश, स्वदेशी उत्पादनको व्यावसायिक उपयोग र प्रविधि उद्यमबीच सहकार्यका सम्भावना उठाइएको थियो ।

अमेरिकी बजारमा नेपाली सूचना प्रविधि कम्पनीको विस्तार र सहकार्यका अवसरबारे आयोजित ‘सेलेक्ट यूएसए’ छलफलमा अमेरिकी दूतावासकी राजनीतिक तथा आर्थिक प्रमुख केट लिही, स्विफ्टफिन ग्लोबल कन्सल्टिङका प्रमुख कार्यकारी अधिकृत सितेश भट्टराई र यल्लो नेपालका प्रमुख कार्यकारी अधिकृत अनिश श्रेष्ठ सहभागी थिए । छलफलमा अमेरिकी बजारमा नेपाली कम्पनीको व्यावसायिक पहुँच, साझेदारी र बजार विस्तारका सम्भावनाबारे विचार आदानप्रदान गरिएको थियो । सो प्यानलमा अमिरराज थापाले मोडरेटरको भूमिका निभाएका थिए ।

त्यसपछि आयोजित ‘बिल्डिङ फ्रम विथ इन स्ट्रेन्ज्थेनिङ्ग नेपाल्स डिजिटल इकोनमी नेपाल्स टेक इकोसिस्टम’ छलफलमा नेपाली प्रविधि उद्यमीहरूले आफ्ना उत्पादन, नवप्रवर्तन र व्यावसायिक अनुभव प्रस्तुत गरे । एक्स्पो संयोजक प्रार्थना साखःले सहजकर्ताको भूमिका निभाएको प्यानलमा आकाश टेकका संस्थापक तथा प्रबन्ध निर्देशक बृजेशप्रसाद गुप्ता, ¥यापिडका प्रमुख कार्यकारी अधिकृत आशुतोष साह, एड्रेसग्राफ नेपाल (कताहो) का संस्थापक तथा सल्लाहकार लक्ष्मणप्रसाद रिमाल र थर्ड फ्याक्टर एआईका प्रमुख व्यवसाय अधिकृत सोजन प्रजापति सहभागी थिए ।

गुप्ताले सन् २००८ देखि सुरु भएको उद्यमशीलता यात्राबाट विकसित एआई प्रणालीबारे जानकारी दिँदै पाठ र आवाजमा आधारित संवादलाई एकीकृत गर्ने प्रविधि निर्माण गरेको बताए । उक्त प्रणालीले फोन, ह्वाट्सएप, फेसबुक र टेलिग्रामलगायत माध्यमबाट हुने ग्राहक संवादलाई एउटै प्रणालीमा व्यवस्थापन गर्न, संवादकै आधारमा भेटघाटको समय तय गर्न तथा प्रस्ताव तयार गरी पठाउन सक्ने उनले बताए । नेपाली प्रविधि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने क्रममा आगामी जनवरी १५ मा भारतमा आकाशटेल सार्वजनिक गर्ने तयारी रहेको उनले जानकारी दिए ।

¥यापिडका साहले बैंकिङ प्रणाली र व्यावसायिक लेखा सफ्टवेयरबीच प्रत्यक्ष एकीकरण सम्भव हुने प्रविधिबारे चर्चा गरे । युरोपको पीएसडी–२ संरचना तथा आईएसओ २००२२ मापदण्डमा आधारित बैंकिङ सेवा प्रणालीमार्फत वास्तविक समयको खाताको मौज्दात, भुक्तानी तथा हिसाब मिलान स्वचालित रूपमा गर्न सकिने उनले बताए । यसले व्यवसायको वित्तीय कारोबारलाई सहज, पारदर्शी र कम मानवीय हस्तक्षेपमा आधारित बनाउन सक्ने उनको भनाइ थियो ।

एड्रेसग्राफ नेपालका रिमालले स्थानीय समस्या समाधानका लागि स्थानीय प्रविधिको विकास आवश्यक रहेको बताए । २८ वर्षको प्रविधि विकास यात्रामा सयभन्दा बढी उत्पादन निर्माण गरेको उल्लेख गर्दै उनले नेपालमै निर्मित विद्युतीय मतदान उपकरणले पेटेन्ट अधिकार प्राप्त गरेको जानकारी दिए । सात वर्षको अनुसन्धानपछि विकास गरिएको ‘कताहो’ डिजिटल ठेगाना प्रणालीले तीन सेकेन्डमै स्थानको विवरण साझेदारी गर्न सकिने सुविधा दिने उनले बताए ।

थर्ड फ्याक्टर एआईका प्रजापतिले डिजिटल कारोबार विस्तार भए पनि बैंक खाता खोल्ने, बीमा दाबी गर्ने र पहिचान प्रमाणीकरणजस्ता सेवामा अझै भौतिक उपस्थितिको आवश्यकता रहेको बताए । डिजिटल पहिचान प्रमाणीकरण प्रविधिले बैंकिङ, बीमा तथा अन्य डिजिटल सेवाको प्रक्रिया सहज बनाउन र सेवाग्राहीको भौतिक उपस्थितिमा निर्भरता घटाउन सक्ने उनले बताए ।

‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ भन्ने नारासहित आयोजना भएको दोस्रो संस्करणको एक्स्पोमा छ क्षेत्रका ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी थिए । साइबर सुरक्षा तथा डिजिटल विश्वास, वित्तीय प्रविधि तथा बैंकिङ, व्यावसायिक सफ्टवेयर, कृत्रिम बुद्धिमत्ता तथा स्वचालन, सञ्चार तथा डिजिटल प्लेटफर्म र शैक्षिक प्रविधि तथा जनशक्ति विकास क्षेत्रका कम्पनीले आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गरेका थिए ।

यस वर्ष पहिलोपटक युरोपेली संघको सहयोगमा स्टार्टअप प्याभिलियन स्थापना गरिएको थियो । ब्ल्याकफायर एआई, साइबर अलर्ट नेपाल, मेडीनेप्स, बुकयोरकाउन्सेलिङ, गोर्खा साइबर फोर्स र मिरागोलगायत स्टार्टअपले आफ्ना नवीनतम सेवा तथा प्रविधि प्रस्तुत गरेका थिए ।

एक्स्पोको उद्देश्य नेपाली प्रविधि कम्पनीलाई स्वदेशी खरिदकर्ता, सरकारी निकाय, लगानीकर्ता र अन्तर्राष्ट्रिय साझेदारसँग जोड्नुका साथै नेपालमै प्रविधिमा आधारित रोजगारी र उद्यमशीलताको सम्भावना विस्तार गर्नु रहेको आयोजकले जनाएको छ ।

सन् २०२५ मा पहिलोपटक आयोजना गरिएको एक्स्पोमा दुई हजार पाँच सयभन्दा बढी अवलोकनकर्ता र ३० भन्दा बढी कम्पनी सहभागी भएका थिए । दोस्रो संस्करणमा प्रदर्शनीसँगै स्टार्टअप प्याभिलियन, पिच सत्र र प्यानल छलफल थप गरिएको थियो ।

एक्स्पोमा आकाशटेल मुख्य प्रायोजक, अम्निल टेक्नोलोजिज, एकबाना, ग्लोबल आईएमई बैंक र थर्ड फ्याक्६र एआइ सहप्रायोजक, डिशहोम इन्टरनेट साझेदार तथा किङ्स कलेज, एआरसी र बिजक सहयोगी संस्थाका रूपमा सहभागी थिए ।

कार्यक्रममा विभिन्न मित्रराष्ट्रका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूले सक्रिय सहभागिता जनाउँदै शुभकामना सन्देश व्यक्त गरेका छन्। अन्तर्राष्ट्रिय सहकार्य र साझा संवादलाई जोड दिइएको उक्त कार्यक्रममा कूटनीतिक क्षेत्रको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा जापान, दक्षिण कोरिया, बेलायत र स्विट्जरल्याण्डलगायत विभिन्न देशका राजदूतहरूले भिडियो सन्देशमार्फत आफ्नो धारणा राख्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । भिडियो सन्देशमार्फत उनीहरूले आपसी साझेदारी र निरन्तर सहकार्यको महत्त्वमाथि प्रकाश पारेका थिए ।

यसैगरी, अघिल्लो दिन सम्पन्न सत्रमा स्विट्जरल्याण्ड र बेलायतलगायत मित्रराष्ट्रका राजदूत तथा प्रतिनिधिहरूको प्रत्यक्ष उपस्थिति समेत रहेको थियो। प्रत्यक्ष सहभागिता तथा भिडियो सन्देशले कार्यक्रमलाई थप प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरमा अर्थपूर्ण बनाएको आयोजकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस