काठमाडौं, १८ कात्तिक । नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग पोखरामा भेटवार्ता गरेका छन्।
भेटका क्रममा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको छ।
वार्तामा गण्डकी प्रदेश तथा पोखरासँगको सहकार्यलाई पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, स्टार्टअप र व्यापारलगायतका क्षेत्रमा विस्तार गर्ने विषयमा छलफल भएको थियो।
राजदूत खानले नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम मित्रता तथा साझा सांस्कृतिक र बौद्ध एवं हिन्दू सम्पदाको महत्त्व उल्लेख गर्दै सांस्कृतिक आदानप्रदान र जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्।