अमेरिकी मध्यावधि निर्वाचनमा ट्रम्पको पार्टी रिपब्लिकनको लज्जास्पद हार, दुवै सदनमा डेमोक्रेटिकको नियन्त्रण

अनलाइनसमय |
१८ कार्तिक २०८३
अमेरिकी मध्यावधि निर्वाचनमा ट्रम्पको पार्टी रिपब्लिकनको लज्जास्पद हार, दुवै सदनमा डेमोक्रेटिकको नियन्त्रण

काठमाडौं, १८ कात्तिक । अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकनले लज्जास्पद हार बेहोरेको छ । निर्वाचनमा डेमोक्रेटिकले तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) र माथिल्लो सदन (सीनेट)मा बहुमत जित हासिल गरेको छ ।

यसैबीच, डेमोक्रेटिक उम्मेदवार अब्दुल अल सयदले मिशिगनमा जित हासिल गरे । उनी अमेरिकी इतिहासमा सिनेटरको रुपमा निर्वाचित हुने पहिलो मुस्लिम बने ।

रिपब्लिकन पार्टीका ट्रम्पको राष्ट्रपतीय कार्यकालका बाँकी दुई वर्षमा अब डेमोक्रेटिक पार्टीको नियन्त्रण कायम हुने भएको छ । कङ्ग्रेसमा नियन्त्रण कायम भएकाले डेमोक्रेटिकले राष्ट्रपति ट्रम्पविरुद्ध तेस्रो पटक महाभियोग लगाउन सक्ने सम्भावना पनि छ ।

फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले डेमोक्रेटिकहरूले “राम्रो गरेको“ भन्दै इरान युद्ध र इन्धनको मूल्यवृद्धिका कारण आफ्नो पार्टी पराजित भएको स्वीकार गरे ।

सीनेटमा नियन्त्रण कायम गर्ने महत्त्वपूर्ण प्रतिस्पर्धामा डेमोक्रेटिकहरूले १८ वर्षयता पहिलो पटक नोर्थ क्यारोलाइना जितेका छन् । त्यहाँ रोय कूपरले रिपब्लिकनहरूबाट उक्त सीट खोसेका छन् ।

रिपब्लिकन पार्टीको वर्चस्व कायम रहँदै आएका टेक्सस, ओहायो र क्यान्ससमा सीनेटमा डेमोक्रेटिक पार्टी विजयी भएको छ । क्यान्ससमा १०० वर्षअघि मात्र डेमोक्रेटिक पार्टीका उम्मेदवार सीनेटमा निर्वाचित भएका थिए ।

यस मध्यावधि निर्वाचनमा तल्लो सदनका सबै ४३५ सीट, माथिल्लो सदनका १०० मध्ये ३५ सीट र गभर्नरहरूसहित पदका लागि चुनावी प्रतिस्पर्धा थियो । मतदाताहरूको मनोदशा डोनल्ड ट्रम्प र रिपब्लिकनहरूको विपक्षमा गएको देखिन्थ्यो ।

सीनेटका मुख्य प्रतिस्पर्धामा डेमोक्र्याटिक सिनेटर जोन ओसफ जोर्जामा पुनः निर्वाचित भएका छन् । ओसफलाई सन् २०२८ को सम्भावित राष्ट्रपति पदको उम्मेदवारको रूपमा व्यापक रूपमा हेरिँदै आएको छ । उनले समर्थकहरूलाई सम्बोधन गर्दै मतदाताहरूले ट्रम्पको भ्रष्टाचार र अक्षमतालाई अस्वीकार गरेको बताए ।

पूर्वराष्ट्रपति बराक ओबामाले आफ्नो पार्टीको ठूलो जित अमेरिकीहरू परिवर्तन चाहन्छन् भन्ने प्रमाण भएको बताएका छन् ।

यो परिणामले कङ्ग्रेसमा विपक्षी डेमोक्रेटिक पार्टीको नियन्त्रण हुने सुनिश्चित गरेको छ । अमेरिकी कङ्ग्रेस दुई सदन मिलेर बनेको छ । तल्लो सदनलाई ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ भनिन्छ भने माथिल्लो सदनलाई ‘सीनेट’ भनिन्छ ।

तल्लो सदनमा बहुमत प्राप्त गर्न कुनै पनि दललाई २१८ सीट आवश्यक पर्छ । सीनेटमा स्पष्ट बहुमतका लागि ५१ सिट चाहिन्छ । यसअघि दुवै सदनमा रिपब्लिकन पार्टीको नियन्त्रण थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस