काठमाडौं, १२ कात्तिक । देशका विभिन्न भूभागमा आजदेखि शनिबारसम्म वर्षा र हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यीबाहेक कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ ।
बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात ‘अर्नब’ कमजोर हुँदै न्यूनचापीय प्रणालीमा परिणत भइसकेको छ ।
मौसम पूर्वानुमान महाशाखाले पनि चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेश हुँदै जमिनमा प्रवेश गरेपछि त्यसको प्रभावले नेपालमा साधारणतया बादल लागेको जनाएको छ । यद्यपि, चक्रवातको प्रत्यक्ष प्रभाव भने नेपालमा नपर्ने महाशाखाले जनाएको छ ।
यसैबीच, देशमा पश्चिमी वायुको आंशिक प्रभावसमेत कायम रहेको छ । आइतबार भने देशका अधिकांश स्थानमा आंशिक बदली रहने र हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको अनुमान छ ।