आजदेखि देशभरका म्यानपावर बन्द, श्रमिक उडान ठप्प

अनलाइनसमय |
१ भदौ २०८३
आजदेखि देशभरका म्यानपावर बन्द, श्रमिक उडान ठप्प

काठमाडौं, १ भदौ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारसँग राखेका माग सम्बोधन नभएको भन्दै आजदेखि देशभरका म्यानपावर कम्पनी पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ ।

संघको निर्णयअनुसार काठमाडौंस्थित मुख्य कार्यालयसहित देशभरका म्यानपावर कम्पनी तथा शाखा कार्यालयबाट वैदेशिक रोजगारीसम्बन्धी सेवा ठप्प हुनेछन् ।

सरकारलाई दिएको अल्टिमेटमको समयसीमामा वार्ता र सहमति हुन नसकेपछि व्यवसायीहरूले देशभरका शाखा कार्यालयहरूमा तालाबन्दी गर्दै सम्पूर्ण प्रक्रिया रोकेका हुन् ।

हिजो (साउन ३१ गते) राति १२ बजेसम्म श्रम स्वीकृति र उडान प्रक्रिया पूरा भएका श्रमिकहरूलाई मात्र प्रस्थान गर्न दिइएको छ । आज भदौ १ देखि पूर्व–निर्धारित सबै श्रमिक उडान तथा प्रस्थान पूर्ण रूपमा बन्द गरिएको छ ।

नयाँ विज्ञापन, अन्तर्वार्ता, पूर्व तथा अन्तिम श्रम स्वीकृति, भिसा स्ट्याम्पिङ र वैदेशिक रोजगार विभागसँग सम्बन्धित सम्पूर्ण प्रशासनिक काम रोकिने संघले जनाएको छ ।

सरकारले व्यवसायीका मागप्रति बेवास्ता गरेको आरोप लगाउँदै संघले चरणबद्ध आन्दोलन गर्दै आएको थियो । यसअघि नै व्यवसायीहरूले पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङलगायतका प्रक्रिया रोकिसकेका थिए ।

साउनको दोस्रो साता वैदेशिक रोजगार विभागले भारतीय विमानस्थल प्रयोग गरी श्रमिक पठाएको विषय लगायतका कारण देखाउँदै सयौँ म्यानपावर कम्पनीहरूमाथि कारबाही अघि बढाएपछि व्यवसायीहरू आन्दोलित भएका हुन् ।

व्यवसायीहरूले विशेष परिस्थितिमा सरकारकै मौखिक सहमतिमा वैकल्पिक उडानमार्ग प्रयोग गरिएको दाबी गर्दै उक्त कारबाही फिर्ता हुनुपर्ने, सेवा शुल्क परिमार्जनको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने र नीतिगत सुधार हुनुपर्ने माग राखेका छन् ।

म्यानपावर कम्पनीहरू पूर्ण रूपमा बन्द भएपछि वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका हजारौँ नेपाली युवाहरू अन्योलमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस