अतिरिक्त समयमा स्विट्जरल्याण्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

अनलाइनसमय |
२८ असार २०८३
अतिरिक्त समयमा स्विट्जरल्याण्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौं, २८ असार । फिफा विश्वकप २०२६ को अन्तिम क्वाटरफाइनलमा साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्याण्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको खेल निर्धारित ९० मिनेटसम्म १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको थियो । १० खेलाडीमा सीमित स्विट्जरल्याण्डविरुद्ध अतिरिक्त समयको अन्तिम चरणमा दुई गोल गर्दै अर्जेन्टिनाले जित सुनिश्चित ग¥यो । अब अर्जेन्टिनाले सेमिफाइनलमा बुधबार एटलान्टामा इङ्गल्याण्डसँग खेल्नेछ ।

अर्जेन्टिनाले खेलको १०औँ मिनेटमै अग्रता लिएको थियो । कप्तान लियोनेल मेसीको कर्नरमा अलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोल गर्दै टोलीलाई १–० ले अघि बढाए ।

स्विट्जरल्याण्डले ६७औँ मिनेटमा बराबरी गोल फर्कायो । रिकार्डो रोड्रीग्वेजको पासमा ड्यान एनडोयेले गोल गर्दै खेल १–१ बनाए ।

७२औँ मिनेटमा खेलले नाटकीय मोड लियो। सुरुमा रेफ्रीले लियान्द्रो परेदेसलाई पहेंलो कार्ड देखाए पनि भिएआर परीक्षणपछि ब्रील एमबोलोले झूटो फलको अभिनय गरेको पुष्टि भयो । यसअघि नै पहेंलो कार्ड खाइसकेका एमबोलोलाई दोस्रो पहेंलो हुँदै रातो कार्ड दिइएपछि स्विट्जरल्याण्ड १० खेलाडीमा सीमित भयो ।

संख्यात्मक अग्रताको फाइदा उठाउँदै अर्जेन्टिनाले ११२औँ मिनेटमा जुलियान अल्भारेजको गोलमार्फत २–१ को अग्रता बनायो । त्यसपछि इन्जुरी समयको अन्तिम मिनेटमा लाउतारो मार्टिनेजले काउन्टर अट्याकबाट गोल थप्दै ३–१ को जित पक्का गरे ।

यो जितसँगै अर्जेन्टिनाले फाइनल प्रवेशका लागि इङ्गल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । इङ्गल्याण्डले क्वाटरफाइनलमा नर्वेलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस