काठमाडौं, २४ असार । देशका अधिकांश जिल्लामा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण नियन्त्रणमा आइसके पनि काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा भने संक्रमणको जोखिम अझै कायम रहेको छ ।
पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवनलगायत जिल्लामा बर्डफ्लु नियन्त्रणमा आएको हो । तर काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा भने सङ्क्रमण नियन्त्रणका प्रयास जारी छन् ।
विभागका वरिष्ठ पशु सेवा चिकित्सक डा. मुकुल उपाध्यायले काठमाडौं उपत्यकाका तीन जिल्लामा सङ्क्रमणको अवस्था स्थिर रहे पनि काभ्रेपलाञ्चोकमा संक्रमण तीव्र रूपमा फैलिरहेको जानकारी दिए ।
विभागका अनुसार हालसम्म देशभर बर्डफ्लु नियन्त्रणका क्रममा सात लाख ५४ हजार ५०० पन्छी, १० लाख ९१ हजार ३०३ अण्डा तथा दुई लाख ४३ हजार ६३५ किलोग्राम दाना नष्ट गरिएको छ ।
त्यसमध्ये काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा मात्रै दुई लाख ८६ हजार २७७ पन्छी, एक लाख ७९ हजार ६४ अण्डा र ७४ हजार किलोग्राम दाना नष्ट गरिएको विभागले जनाएको छ ।