कुल नारायण श्रेष्ठ,
काठमाडौं, १६ वैशाख । नेपालमा २ ओटा नेपाल प्रिमियर लिग (एनपीएल) सम्पन्न भइसकेका छन् । पहिलो संस्करणमा २ करोड ४६ लाख ५० हजार रुपैयाँ खुद आम्दानी गरेको नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो संस्करणमा करिब ९ करोड २१ लाख रुपैयाँभन्दा नाफा कमायो । यसले नेपाली क्रिकेट अब खेल मात्र नभई आर्थिक दृष्टिले पनि सम्भावनायुक्त बन्दै गएको संकेत गर्छ ।
त्रिवि मैदान एउटा खेल मैदान होइन, यो नेपाली क्रिकेटको २५ वर्ष इतिहास बोकेको केन्द्र हो । यहीँबाट अन्तर्राष्ट्रिय मान्यता पायो र यहीँबाट सयौं खेलाडी उदाए । सरकारले केही समयअघि मात्र १० हजार सिट क्षमताको ४३ करोड ७७ लाख लागतमा प्यारापिट र ४२ करोड १९ लाख रुपैयाँ बराबरको फ्लडलाइट जडान गरेर रङ्शालाको स्तरोन्नति गरेका थिए ।
तर यति ठूलो आर्थिक सबलता र सफलताका बाबजुद पनि नेपाली क्रिकेट अझै आधारभूत पूर्वाधारको प्रश्नमा अड्किएको छ । खेल सञ्चालन, प्रशिक्षण र अन्तर्राष्ट्रिय प्रतियोगिताको मुख्य केन्द्र अझै पनि त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमै सीमित छ । यहीँ सन्दर्भमा विभिन्न प्रश्न उठ्न थालेको छ । कहिलेसम्म नेपाली क्रिकेट त्रिवि मैदानमै भर पर्नुपर्ने हो ? दुई एनपीएल सफलतापूर्वक सम्पन्न भइसक्दा पनि क्यानको आफ्नै स्वामित्वका अन्तर्राष्ट्रिय स्तरका रंगशाला किन छैनन् ?
जयकुमारनाथ शाह क्यानका अध्यक्ष भएका बेला खेल मैदानको लागि त्रिविसँग २५ वर्षको सम्झौता भएको थियो । उक्त सम्झौता सकिन लागेको अवस्थामा फेरि अनिश्चितता बढेको छ । त्यतिबेला क्यानले वार्षिक ३ लाख रुपैयाँ दिने सम्झौता गरेको भएपनि अहिले बढाएर वार्षिक १२ लाख रुपैयाँ पु¥याइएको छ ।
सरकारका तर्फबाट त्रिवि मैदान हटाउने कुनै योजना नभएको बताइएको छ । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले मैदान यथावत रहने र सम्झौता नयाँ ढंगले अगाडि बढाइने बताएका छन् । यो तत्कालका लागि राहत भए पनि दीर्घकालीन समाधान भने होइन । किनभने अहिले नेपाली क्रिकेट त्रिविमा अडिएको छैन, यो मुलपानीका दुई मैदान र निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो सपनासँग पनि जोडिएको छ । मुलपानी मैदानले केही अन्तर्राष्ट्रिय खेलको मान्यता पाइसकेको भए पनि अझै पूर्ण क्षमतामा विकसित हुन सकेको छैन । पूर्वाधार, दर्शक क्षमता, सुविधायुक्त संरचना र निरन्तर मर्मत–सम्भारको दृष्टिले यो मैदान अझै विकासको चरणमै छ ।
यता, नेपाली क्रिकेटको नेपाली क्रिकेटको ठूलो सपना र सम्भावना मानिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अझै अलपत्र अवस्थामै छ । भरतपुर महानगरपालिका–१५, रामपुरमा निर्माणाधीन यो परियोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०७५ माघ १६ गते सम्झौता गरिएको थियो । तर वर्षौं बितिसक्दा पनि निर्माण कार्य अधुरै छ । पटक–पटक समयसीमा तोकिए पनि कछुवाको गतिमा काम हुँदा यो परियोजनाले फड्को मार्न सकेको छैन ।
यो रंगशाला एउटा खेल मैदान मात्र नभइ नेपाली क्रिकेटको दीर्घकालीन संरचना र अन्तर्राष्ट्रिय स्तरको पहिचानसँग जोडिएको महत्वपूर्ण परियोजना हो । यदि यो समयमै सम्पन्न भएको भए त्रिवि मैदानमाथिको निर्भरता कम हुन सक्छ ।
क्रिकेट मैदान खेल्ने स्थान मात्र नभइ यो पर्यटन, सौन्दर्य र अन्तर्राष्ट्रिय पहिचानसँग पनि जोडिएको संरचना हो । राम्रो स्तरको रंगशालाले खेलसँगै, आर्थिक गतिविधि र स्थानीय विकासमा पनि योगदान दिन सक्छ । साथै एउटै मैदानमा लगातार खेल हुँदा छोटो समयै पिच, ‘ग्राउण्ड’ बिग्रिने, आउटफिल्डको गुणस्तर घट्ने र मर्मतको दबाब बढ्ने जस्ता चुनौतीबाट पनि राहत मिल्छ । यद्यपि खेल मैदानको विकल्प पनि हुनेछ ।
क्षेत्रीय स्तरमा पनि क्रिकेट रंगशाला निर्माण गर्नु आवश्यक देखिन्छ । प्रदेशस्तरमा पूर्वाधार विकास भएमा खेलको विकेन्द्रीकरणका साथै नयाँ प्रतिभा उत्पादन र घरेलु क्रिकेटको विस्तार पनि सहज हुनेछ ।
हाल नेपालमा एनपीएलजस्ता ठूला प्रतियोगिताले देखाएको आर्थिक सम्भावना अत्यन्तै उत्साहजनक छ । पछिल्लो समय क्रिकेटप्रति नेपालीहरूको चासो र फ्यान बढिरहेको छ । यहीँ अवस्थामा अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पनि नेपाललाई ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड २ पटक प्रदान गरिसकेको छ । यद्यपि संरचनागत विकाससँग जोड्न सकिएन भने नेपाली क्रिकेट फेरि सीमित पूर्वाधारभित्रै अड्किन सक्छ ।
नेपाली क्रिकेटले गति लिइरहेको छ, सम्भावना बढिरहेको छ, तर दीर्घकालीन रूपमा टिकाउने संरचना अझै बनिसकेको छैन । नेपालले अन्तरराष्ट्रिय स्तरका आफ्नै स्वामित्वको क्रिकेट स्टेडियम निर्माण गरेर आत्मनिर्भर बन्न सक्छ ? कि अझै पनि त्रिवि जस्तै सीमित संरचनामा निर्भर रहनुपर्ने हो ? भन्ने मूल प्रश्न छ ।