सुनिता सुवेदी,
काठमाडौं, २५ फागुन । राजनीतिक नेतृत्वमा आउन गरिने प्रतिस्पर्धामा हार जितलाई स्वाभाविक मानिन्छ । दैलेखकी नेतृ बासना थापाको राजनीतिक यात्रा पनि यही वास्तविकताको उदाहरण बनेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा पराजय भोगेकी उनी अहिले भने संघीय संसद्को जिम्मेवारी पाएकी छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा दैलेखको नारायण नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवार बनेकी बासना थापा त्यतिबेला एमालेकी सावित्री मल्लसँग ५७७ मतले पराजित भएकी थिइन् । त्यो हारले उनलाई राजनीतिबाट टाढा लैजान सकेन, उनलाई झन् दृढ बनायो । उनले राजनीतिक सक्रियता रोकिनन्, बरू स्थानीय स्तरका समस्याहरू उठाउँदै, पार्टी संगठनलाई बलियो बनाउँदै नागरिकसँग निरन्तर सम्पर्कमा रहिन् । धेरै नेताहरू पराजयपछि राजनीतिबाट टाढा हुने गरे पनि थापाले भने त्यसलाई नयाँ अवसरका रूपमा लिइन् । गाउँगाउँमा पुगेर पार्टीका कार्यक्रम सञ्चालन गर्ने, कार्यकर्तालाई परिचालन गर्ने र नागरिकका मुद्दाहरू उठाउने काममा उनी निरन्तर लागिरहिन् ।
यसै क्रममा उनले महिलाको राजनीतिक सहभागिता बढाउने अभियानमा पनि योगदान दिइन् । समयसँगै उनको राजनीतिक सक्रियता र संगठनात्मक कामले पार्टीभित्र पनि महत्व पाउन थाल्यो । यही पृष्ठभूमिमा उनी प्रतिनिधिसभा निर्वाचन २०८२ मा उम्मेदवार बन्ने अवसरसम्म पुगिन् । काग्रेसले थापालाई दैलेख क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनायो ।
यसो त, यो निर्वाचनमा थापालाई प्रतिस्पर्धा गर्न सजिलो थिएन । पछिल्लो समय पुराना दलप्रति नागरिक असन्तुष्ट थिए । देशभर नयाँ राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव व्यापक रूपमा देखियो ।
थापाको प्रतिस्पर्धामा अनुभवी नेताहरू रवीन्द्रराज शर्मा र अम्मरबहादुर थापा थिए । त्यसमाथि राष्ट्रिय स्वतन्त्र पार्टीबाट नन्दकिशोर बस्नेतको उम्मेदवार प्रतिस्पर्धालाई थप रोचक र चुनौतीपूर्ण बनाएको थियो ।
यही फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको जितमा देशभर रास्वपाको लहर नै चल्यो, तर कर्णाली प्रदेशमा यसले छोएन । यस प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये रास्वपाले सुर्खेत–२ मा मात्र विजय हासिल ग¥यो ।
यसैबीच दैलेख क्षेत्र नम्बर १ मा पनि कांग्रेसकी उम्मेदवार बासना थापा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइन् । त्यहाँका मतदाताले राष्ट्रिय स्तरको लहरभन्दा स्थानीय नेतृत्व, अनुभव र क्षेत्रसँगको सम्बन्धलाई प्राथमिकता दिए । पार्टी संगठन निर्माण, सामाजिक गतिविधि तथा स्थानीय मुद्दामा निरन्तर सक्रियताले उनलाई मतदाताबीच पहिलेदेखि नै परिचित बनाएको थियो ।
निर्वाचनको अन्तिम परिणामअनुसार उनले १२ हजार ३७२ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रवीन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरे । यसरी बासनाले ५७६ मतान्तरले शर्मा पराजित गर्दै विजय हासिल गरिन् ।
कर्णालीकै एक महिला प्रतिनिधित्व
यसो त, प्रतिनिधिसभा निर्वाचनपछि कर्णाली प्रदेशबाट संघीय संसद्मा पुगेका प्रतिनिधिहरूमध्ये थापा एक मात्र महिला सांसद हुन् । कर्णालीको प्रतिनिधित्व गर्दै संसद्मा पुग्ने एक्ली महिला भएकाले उनको जितलाई विशेष महत्वका साथ हेरिएको छ ।
कर्णाली प्रदेश नेपालको सबैभन्दा दुर्गम र विकासका दृष्टिले पछि परेको क्षेत्र मानिन्छ । भौगोलिक कठिनाइ, सीमित पूर्वाधार र आर्थिक अवसरको अभावले कर्णालकिा नागरिकले लामो समयदेखि विभिन्न चुनौतीहरू सामना गर्दै आएका छन् । यस्तो क्षेत्रबाट महिलाहरू राजनीतिमा सक्रिय भएर राष्ट्रिय स्तरसम्म पुग्नु अझै पनि चुनौतीपूर्ण मानिन्छ । यही सन्दर्भमा बासना थापाको संसद् यात्रा कर्णालीको महिला नेतृत्वका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।
यो प्रतिनिधिसभा निर्वाचनमा १४ जना महिनाले मात्रै जित हासिल गर्न सफल भएका छन्, जसमध्ये एक हुन् बासना थापा । अझ रोचक त पुराना दलबाट निर्वाचित हुने महिला सांसद् पनि उनी एक्ले हुन् । बाँकी सबै रास्वपाका छन् ।
विद्यार्थी राजनीतिबाट संसद्सम्म
काठमाडौंमा जन्मेकी बसना थापा हाल ४५ वर्षकी भइन् । बासना विद्यार्थी राजनीतिबाटै उदाएकी हुन् । नेपाल विद्यार्थी संघ (नेविसंघ)मा आबद्ध हुँदै उनले आफ्नो राजनीतिक यात्रा सुरु गरेकी थिइन् । काठमाडौँमा जन्मे–हुर्केकी बासना २०५९ सालमा रोबिन्सन थापासँग विवाह गरेर दैलेख आएकी हुन् । त्यसपछि उनी दैलेखको सामाजिक तथा राजनीतिक जीवनसँग नजिकिँदै गइन् । हाल उनी दैलेखको नारायण नगरपालिकाकी स्थायी बासिन्दा हुन् । त्यहीँबाट आफ्नो राजनीतिक तथा सामाजिक गतिविधि सञ्चालन गर्दै आएकी छन् ।
बासना थापा नेपाली फिल्म जगत्की लोकप्रिय नायिका बिपना थापाकी बहिनीका रूपमा पनि परिचित छिन् । थापाले स्नातकोत्तर (एम.ए) उत्तीर्ण गरेकी छन् ।
पारिवारिक विरासत र प्रेरणा
बसना थापाको राजनीतिक चेतना उनको पारिवारिक पृष्ठभूमिसँग गहिरो रूपमा जोडिएको छ । हजुरबुवा नरबहादुर थापा २०१५ सालको ऐतिहासिक आमनिर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका थिए । यही राजनीतिक विरासतले उनलाई पनि सार्वजनिक जीवन र राजनीतितर्फ अघि बढ्न प्रेरित ग¥यो ।
परिवारबाट प्राप्त प्रेरणालाई पछ्याउँदै बासना थापा २०५७ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध भएकी थिइन् । विद्यार्थी राजनीतिबाट सुरु भएको उनको सक्रियता क्रमशः विस्तार हुँदै गयो । २०६१ सालमा उनी दैलेखबाट नेपाली काँग्रेसको क्रियाशील सदस्य बनिन् । त्यसपछि पार्टी संगठन सुदृढीकरण, सामाजिक गतिविधि र समाजसेवामा निरन्तर सक्रिय रहिन् । १४औँ महाधिवेशनमा उनले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएकी थिइन् । यसअघि १३औँ महाधिवेशनमा प्रतिनिधि बनेकी उनी १४औँ महाधिवेशनमा महासमिति सदस्य बन्न सफल भइन् ।
राजनीतिक गतिविधिसँगै उनले होटेल व्यवसाय समेत सञ्चालन गर्दै आएकी छन् । साथै लायन्स क्लबजस्ता सामाजिक संस्थामा आबद्ध भएर सामाजिक सेवा, समुदाय विकास तथा परोपकारी गतिविधिमा पनि सक्रिय रहँदै आएकी छन् ।
बासना थापाले आफ्नो चुनावी अभियानमा पूर्वाधार सुधार, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवा पहुँच, स्थानीय आर्थिक विकास, र पारदर्शी सार्वजनिक सेवालाई प्राथमिकता दिएकी थिइन् । यो विषय अब उनले संसद्बाट आवाज उठाउने छिन् । दैलेख क्षेत्रले सुरक्षित र दिगो पूर्वाधार, गुणस्तरीय शिक्षा र स्वास्थ्य, रोजगारी र आर्थिक समृद्धि पाउनु पर्ने थापाको दृष्टिकोण छ ।