• ताजा समाचार, शिक्षा तथा संस्कृति

    आंशिक शिक्षकलाई दिइने पारिश्रमिकमा त्रिचन्द्र कलेज र आन्दोलनरत पक्षबीच सहमति

     109 Views
    आंशिक शिक्षकलाई दिइने पारिश्रमिकमा त्रिचन्द्र कलेज र आन्दोलनरत पक्षबीच सहमति

    काठमाडौं, १० जेठ । त्रिचन्द्र क्याम्पस प्रशासन र आन्दोलनरत आंशिक शिक्षकहरूबीच सहमति जुटेको छ ।

    क्याम्पस प्रमुख प्रा.डा. निलम श्रेष्ठका अनुसार बुधबार साँझ भएको वार्तामा केही महिनाको पारिश्रमिक पुरानै दरमा दिने र त्रिवि कार्यकारीको निर्णय आएपछि सोही अनुसार लिने÷दिने सहमति भएको छ ।

    आंशिक शिक्षकलाई दिइने पारिश्रमिकको विषयमा दुई पक्षबीच विवाद भएको थियो । २०७७ सालदेखि आंशिक शिक्षकहरूले प्रतिपिरियडको ५९० रुपैयाँ पाउँदै आएका थिए ।

    गत वर्ष लेखाले बेरुजु देखाएको भन्दै एक पिरियड पढाएको ३९४ रुपैयाँमात्रै दिने भनेपछि आंशिक शिक्षकहरूले विरोध जनाएका थिए । पहिले पाउँदै आएकै दरमा पारिश्रमिक पाउनुपर्ने अडान उनीहरूको थियो । तर क्याम्पसले एक घण्टाको लागि तोकिएको पारिश्रमिक ४० मिनेट पढाउँदा दिन नमिल्ने भनेपछि उनीहरू पढाइ ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए ।

    करिब ७० प्रतिशत कक्षाभार लिइरहेका आंशिक शिक्षकहरूले जेठ ३ गतेदेखि पारिश्रमिकको माग गर्दै प्रशासन, लेखा, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखहरूको कार्यकक्षमा ताला लगाए पश्चात् पढाइ ठप्प थियो । क्याम्पसमा हाल २१६ जना आंशिक शिक्षक कार्यरत छन् ।

    यसमा तपाइको मत

    Facebook Comment