काठमाडौं, २ माघ । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारी सिर्जनामा योगदान पुर्याएका उद्यमीलाई सरकारले राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सूचना जारी गर्दै विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६ अनुसार योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो । मन्त्रालयले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्न भनेको छ ।
आवेदन दिन इच्छुक उद्यमीले कार्य भिसामा विदेश गई कम्तीमा ११ वर्ष काम गरेर स्वदेश फर्किएको हुनुपर्नेछ। त्यसपछि नेपाल फर्किएर कम्तीमा एक वर्षदेखि व्यवसाय सञ्चालन गरेको हुनुपर्ने सूचनामा उल्लेख छ । साथै, विगत पाँच वर्षभित्र मन्त्रालयबाट यस्तै प्रकृतिको पुरस्कार प्राप्त नगरेको स्वघोषणा पनि आवश्यक पर्नेछ ।
आवेदनसँगै नेपाली नागरिकताको प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि, भिसासहितको पासपोर्टको प्रतिलिपि, व्यवसाय दर्ता प्रमाणपत्र, कर दर्ता प्रमाणपत्र, गत आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र तथा यसअघि पुरस्कार नपाएको स्वघोषणा पत्र संलग्न गर्नुपर्नेछ ।
इच्छुक उद्यमीले आवेदन मन्त्रालयको सूचना प्रविधि तथा तथ्यांक शाखामा दर्ता गर्न वा स्क्यान गरी ईमेलमार्फत पठाउन सकिने मन्त्रालयले जनाएको छ ।
उद्यमी छनोट गर्दा रोजगारी सिर्जना, पुँजी लगानी, स्थानीय साधन–स्रोत र प्रविधिको प्रयोग, उत्पादन तथा निर्यात, सामाजिक दायित्व, वातावरणमैत्री प्रविधि, प्रदूषण व्यवस्थापन तथा उद्यम सञ्चालन गरिएको भौगोलिक क्षेत्रलाई आधार बनाई मूल्यांकन गरिने मन्त्रालयले जनाएको छ ।