काठमाडौं, १३ जेठ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी आधार शिविर (Moon Base) निर्माण गर्ने आफ्नो दीर्घकालीन योजनाअन्तर्गत नयाँ चरण सार्वजनिक गरेको छ ।
नासाले चन्द्रमामा स्थायी आधार निर्माण योजनाअन्तर्गत पठाइने रोबोटिक ल्यान्डर, हपिङ ड्रोन तथा सवारी साधनहरूको विवरण सार्वजनिक गरेको बीबीसीमा उल्लेख छ ।
उक्त योजनाअनुसार आगामी दशकभित्र चन्द्रमामा स्थायी अनुसन्धान केन्द्र, ऊर्जा प्रणाली र नियमित मानव बसोबासका लागि आवश्यक पूर्वाधार विकास गरिनेछ ।
अमेरिकी योजना अनुसार चन्द्रमामा आधार निर्माणका लागि प्रयोग हुने यन्त्र निर्माणमा अमेजनका संस्थापक जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनसहित केही निजी कम्पनीहरू छनोट भएका छन् ।
नासाको ‘इग्निसन मुन बेस’ कार्यक्रम तीन चरणमा सञ्चालन हुनेछ । मानव पठाउनुअघि नासाले चन्द्रमाको भूभाग अध्ययन तथा नक्सांकनका लागि रोबोटिक ल्यान्डर र ड्रोन पठाउने योजना बनाएको छ । साथै, अन्तरिक्ष यात्रीलाई चन्द्र सतहमा आवतजावत गराउने तथा सञ्चार एवं वैज्ञानिक उपकरण बोक्ने सवारी साधन पनि प्रयोग गरिनेछ ।
मंगलबार नासाले ब्लु ओरिजिन, इन्ट्युटिभ मेशिन्स र एस्ट्रोबोटिकलगायत कम्पनीहरूलाई चन्द्रमाका लागि आवश्यक उपकरण निर्माणको जिम्मा दिइएको जनाएको छ । नासाले ब्लु ओरिजिनको ‘इन्ड्युरेन्स’ नामक लुनार ल्यान्डरले सटीक अवतरण गर्न सक्ने, साथै स्वचालित नेभिगेसन र नियन्त्रण प्रणाली भएको चाहेको छ ।
एस्ट्रोबोटिकको ‘ग्रिफिन–१’ ल्यान्डर चन्द्रमाको दक्षिणी ध्रुव नजिक रहेको नोबाइल क्रेटर क्षेत्रमा अवतरण गर्ने अपेक्षा गरिएको छ ।
यी उपकरणहरूले नासाका लागि उच्च गुणस्तरका क्यामेरा तथा लेजर प्रकाश प्रयोग गरेर अवतरणमा सहयोग गर्ने वैज्ञानिक उपकरणहरू पनि चन्द्रमामा पु¥याउनेछन् । मुन बेस कार्यक्रमका कार्यकारी कार्लोस गार्सिया–गालानका अनुसार यो रोबोटिक अन्वेषण सन् २०२९ सम्म चल्नेछ, जसअन्तर्गत २५ वटा प्रक्षेपण गरिने र ४ मेट्रिक टन सामग्री चन्द्रमामा पु¥याइनेछ ।
त्यसपछि नासाले चन्द्रमामा आणविक र सौर्य ऊर्जाबाट चल्ने ऊर्जा केन्द्र निर्माण गर्ने योजना बनाएको छ ।
अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सकिनुअघि अर्थात् २०२९ भित्र पुनः मानवलाई चन्द्रमामा अवतरण गराउने लक्ष्य लिएको छ । तर नासा चन्द्रमामा मानव पठाउने प्रतिस्पर्धामा चीनसँग प्रतिस्पर्धा गरिरहेको छ ।
चीनले पनि सन् २०३० सम्म मानवलाई चन्द्रमामा अवतरण गराउने योजना अघि बढाइरहेको छ । सोमबार चीनले शेन्झोउ–२३ अन्तरिक्ष यान प्रक्षेपण गर्दै आफ्ना अन्तरिक्ष यात्रीलाई तियाङगोङ अन्तरिक्ष स्टेशनतर्फ पठाएको थियो ।
यसैबीच, नासाले मार्चमा चन्द्रमाको दक्षिणी ध्रुवमा सौर्य तथा आणविक ऊर्जाबाट सञ्चालित स्थायी आधार निर्माणका लागि २० अर्ब डलरको कार्यक्रम घोषणा गरेको थियो ।
नासाका प्रशासक जारेड आइज्याकम्यानले अमेरिकाले ‘फेरि कहिल्यै चन्द्रमा नछोड्ने’ बताएका छन् । प्रस्तावित आधारबाट वैज्ञानिक अनुसन्धान, मूल्यवान स्रोतको उत्खनन तथा मंगल ग्रह यात्रालाई सहज बनाउने अपेक्षा गरिएको छ ।
यद्यपि धेरै विज्ञहरूले नासाले तय गरेको समयसीमा अवास्तविक हुन सक्ने बताएका छन् । केही वैज्ञानिकका अनुसार चन्द्रमामा मानव अवतरण गराउने दौडमा चीन अमेरिकाभन्दा अघि पुग्न सक्ने सम्भावना छ ।