काठमाडौं, २ असार । सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट विगतको भन्दा राम्रो र सन्तुलित भएको बताएका छन् । आइतबार आर्थिक मामिला मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पालले बजेटमा विगतमा भन्दा सुधार गरेको दाबी गरे ।
‘मैले मन्त्रालयको जिम्मेवारी पाएको छोटो समयमा बजेट ल्याउनुपर्ने अवस्था थियो । प्रदेशका ९ वटा जिल्ला, क्षेत्र र भूगोललाई समेटेर समाानुपातिक हिसाबले बजेट ल्याएका छौं । यो बजेट पहिले भन्दा राम्रो हो कि भन्ने लागेको छ ।’
यस्तै उनले कानुनी हिसाबले नमिल्ने, दोहोरो भएका बाहेक विषयगत मन्त्रालयहरुले सिफारिस गरे अनुसारकै योजना र कार्यक्रम बजेटमा राखिएको बताए । खर्च व्यहोर्ने स्रोतमा आन्तरिक आय धेरै नभएका कारण अनुदानकै भर पर्नुपर्ने अवस्थाले बजेट कार्यान्वयन भने चुनौतीपूर्ण रहेको उनले स्वीकार गरे ।
मन्त्री पालले शनिबार आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए । चाल आवकोभन्दा झण्डै साढे २ अर्बले आकार बढाएर सरकारले बजेट ल्याएको हो ।
साथै उनले खर्च नहुने तर बजेटको आकार वृद्धि भइरहने प्रवृत्तिलाई आगामी वर्षदेखि निरुत्साहित गर्ने दाबी गरे ।