काठमाडौं, ५ पुस । ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को प्रसारण पुष तेस्रो साताबाट सुरु हुने भएको छ ।
निर्माण टिमले आज एक पत्रकार सम्मेलन गर्दै छैटौं सिजनबारे जानकारी दिएको हो । हिमालयन टेलिभिजनबाट हरेक शुक्रबार र शनिवार राति ८ बजे कार्यक्रम हेर्न पाइनेछ । साथै द भ्वाइस अफ नेपालको युट्युब च्यानलबाट पनि हेर्न सकिनेछ ।
कार्यक्रममा ४ जना कोच हुनेछन् । यसअघि दुईवटा सिजनमा कोच रहेर बाहिरिएका राजु लामाको पुनरागमन भएको छ । यस्तै, पाँचौं सिजनमा कोच रहिसकेका उदय सोताङ दोहोरिएका छन् ।
सिजन ६ मा नयाँ कोचका रुपमा गायिका मेलिना राईको प्रवेश भएको छ । उनी भ्वाइस किड्स सिजन ३ की कोच थिइन् । यस्तै, चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी पनि कोचका रुपमा अनुवन्धित भएका छन् । यसपटक सुरुदेखि नै कोचको रुपमा देखिंदै आएका गायक प्रमोद खरेल यो सिजनमा हुनेछैनन् ।
यो सिजनमा डिजिटल अडिसनमा सहभागी भएका करिव ५५ हजार आवेदकमध्येबाट छानिएका १२० बढी प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा प्रतिस्पर्धा गर्ने छन् । अडिसनमा नेपालसहित विभिन्न देशमा बसोबास गर्ने नेपाली प्रतिभाहरुले सहभागीता जनाएका छन् ।
कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलका अनुसार नियमहरु पहिलेकै यथावत् नै रहने छन् । निर्देशक पौडेलले भने,‘यो पटक भ्वाइस अफ नेपालमा सुदूरपश्चिम र पश्चिमाञ्चल क्षेत्रबाट निकै राम्रो संख्यामा प्रतिभाहरु आउनुभएको छ, जुन हाम्रालागि निकै उत्साहजनक हो । नयाँ कोच र प्रतिभाहरुको ट्युनिङ निकै राम्रो भएको छ ।’
यस्तै हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेलले भ्वाइस अफ नेपालले अहिलेसम्म कम समेटेको लोकसंगीतलाई पनि समेटेर अझै बृहत दर्शकमाझ पुग्न कोसिस गरेको बताए ।
हिमालय टेलिभिजनले विश्वका चर्चित रियालिटी सोहरु नेपालमा ल्याई उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ । भ्वाइस अफ नेपाल किड्स, हिमालय रोडिज, हिमालय लोकस्टार लगायतका रियालिटी शो प्रसारण गरिरहेको छ । साथै टेलिभिजनले आगामी सोमबारदेखि बिजनेस रियालिटी सो ‘सार्क ट्याङ्क’ र फेसन रियालिटी शो ‘नेपाल्स नेक्स्ट टप मोडल’ प्रसारण गर्दै छ ।