• ताजा समाचार, शिक्षा तथा संस्कृति, स्वास्थ्य/जीवनशैली

    यस्ता लक्षण देखिन्छन् ? कलेजोमा समस्या हुन सक्छ

     186 Views
    यस्ता लक्षण देखिन्छन् ? कलेजोमा समस्या हुन सक्छ

    अस्मिता सापकोटा
    काठमाडौं, २९ कार्तिक । कलेजो शरीरको सबैभन्दा ठूलो भित्री अङ्ग हो । यसले रगत जमाउने प्रक्रिया नियन्त्रण गर्ने, रगतबाट विषालु पदार्थ हटाउने, पित्त उत्पादनमा सहयोग गर्ने लगायत कार्य गर्छ । कहिलेकाहीँ शरीरमा लाग्ने विभिन्न रोग तथा अस्वस्थ जीवनशैलीका कारण कलेजोमा क्षति पुग्न सक्छ, जसले यसको कार्य क्षमतामा कमी ल्याउँछ ।

    कलेजो रोग एक गम्भीर स्वास्थ्य समस्या हो । यस रोगले संसारभर लाखौं मानिसको स्वास्थ्यमा असर पुर्‍याइरहेको छ ।

    नेसनल इन्टिट्युट अफ हेल्थको पछिल्लो तथ्याङ्क अनुसार सिरोसिस (एक प्रकारको कलेजो रोग)का कारण विश्वमै वार्षिक १३ लाख २० हजार मानिसहरूको मृत्यु हुने अनुमान गरिएको छ भने ११ करोड २० लाख मानिसले सिरोसिसको प्रारम्भिक अवस्था (कम्पेन्सेटेड सिरोसिस) को सामना गरिरहेका छन् ।

    मदिराको अत्यधिक वा नियमित सेवन, टाइप–टु डाइबिटिज कलेजोमा समस्या ल्याउने मुख्य कारक हुन् । कतिपय समस्या भने वंशानुगत पनि हुन्छन् ।

    धेरैजसो अवस्थामा कलेजो रोगका लक्षण तुरुन्त देखिँदैनन् । रोगले शरीरमा धेरै क्षती पुर्‍याइसकेपछि मात्र रोगको लक्षण देखापर्छ ।

    कलेजोमा समस्या आउँदा देखिने प्रारम्भिक लक्षणहरू :

    १. छाला वा आँखाको सेतो भाग पहेँलिनु

    कलेजो सम्बन्धी समस्याको सूक्ष्म संकेत हो छाला वा आँखाको सेतो भाग पहेँलो हुनु, जसलाई पीलिया वा जन्डिस पनि भनिन्छ । शरीरमा रातो रक्तकोषिका प्राकृतिक रुपमा टुक्रिँदा बिलिरुबिनको उत्पादन हुन्छ । यसलाई कलेजोले प्रशोधन गरेर शरीरबाट हटाउँछ । यसको उत्पादन धेरै भएमा जन्डिस हुनसक्छ । जन्डिस कलेजोमा समस्याको सूचक हो । त्यसैले छाला वा आँखाको सेतो भाग पहेँलो देखिएमा तुरुन्तै डाक्टरसँग सल्लाह लिनु उपयुक्त हुन्छ ।

    २. गाढा पिसाब लाग्नु

    गाढा पिसाब लाग्नु सामान्यतया गम्भीर मानिँदैन । प्रायः यसले शरीरलाई थप तरल पदार्थ आवश्यक परेको संकेत गर्छ । तर जति तरल पदार्थ पिउँदा पनि पिसाब उस्तै देखिन्छ भने कलेजोमा समस्या हुन सक्छ । कलेजोमा बिलिरुबिनको मात्रा धेरै हुँदा गाढा खैरो रंगको पिसाब आउँछ ।

    ३. खुट्टा वा पेट सुन्निनु

    खुट्टा वा पेटमा सूजन हुनु कलेजोमा समस्याको संकेत हुन सक्छ । सिरोसिस हुँदा कलेजोमा घाउ हुन्छ, जसले खुट्टा वा पेटमा सूजन हुने सम्भावना बढाउँछ । मायो क्लिनिकका अनुसार सिरोसिसले कलेजोमा रक्त प्रवाहलाई सुस्त बनाएर रगत प्रवाह गर्ने नसामा दबाब बढाउँछ । यस दबाबले खुट्टामा तरल पदार्थ जम्मा गराएमा एडिमा र पेटमा जम्मा गराएमा एसाइटिस हुन्छ । साथै कलेजोले एल्बुमिन जस्ता आवश्यक प्रोटिन उत्पादन गर्न नसक्दा पनि एडिमा र एसाइटिस हुनसक्छ ।

    ४. सानो चोटपटकमा पनि धेरै रक्तस्राव हुनु

    कलेजोमा समस्या भएका व्यक्तिहरूलाई सामान्य चोटपटकमा पनि धेरै रक्तस्राव हुन्छ । कलेजोले रगत जम्न सहयोग गर्ने प्रोटिन उत्पादन गर्छ । यसले राम्रोसँग काम नगर्दा उक्त प्रोटिन पर्याप्त उत्पादन नहुन सक्छ । त्यसैले चोट लागेको बेला सजिलै रगत थामिदैन र धेरै बग्छ ।
    (एजेन्सीको सहयोगमा)

    यसमा तपाइको मत

    Facebook Comment