• ताजा समाचार, शिक्षा तथा संस्कृति, स्वास्थ्य/जीवनशैली

    अतिरिक्त वाई क्रोमोजोमका कारण अटिजमको जोखिम दुई गुणा

     105 Views
    अतिरिक्त वाई क्रोमोजोमका कारण अटिजमको जोखिम दुई गुणा

    अस्मिता सापकोटा
    काठमाडौं, २८ कार्तिक । हालै गरिएको एक अध्ययनले केही मानिसमा हुने अतिरिक्त वाई क्रोमोजोमले अटिजमको जोखिम दोब्बर गर्ने तथ्य पत्ता लगाएको छ । अनुसन्धानकर्ताहरूले वाई क्रोमोजोमको गहन अध्ययनले अटिजमको जोखिम कारक पहिचान गर्न मद्दत पुग्ने बताएका छन् ।

    मानिसमा जैविक लिङ्ग निर्धारण गर्ने क्रोमोजोमहरू हुन्छन् । पुरुषमा सामान्यतया एक्स वाई र महिलामा एक्सएक्स क्रोमोजोम हुन्छ । तर केही व्यक्तिहरूमा यस्ता क्रोमोजोमको असामान्य संख्या पनि हुन सक्छ, जस्तै एक्सएक्सवाई वा एक्सवाईवाई । यसलाई ‘सेक्स क्रोमोजोम एन्युप्लोइडी’ भनिन्छ ।

    अटिजम स्नायु तथा विकास सम्बन्धी रोग हो । यसले मानिसहरूको अन्य व्यक्तिसँग अन्तक्रिया गर्ने, सञ्चार गर्ने, सिक्ने र व्यवहार गर्ने तरिकामा प्रभाव पार्छ । यो रोगबाट महिलाभन्दा पुरुष लगभग चार गुणा बढी पिडित हुने गरेको केही अध्ययनहरूले देखाएका छन् ।

    अमेरिकाको अटिजम एन्ड डेभलपमेन्टल मेडिसिन इन्स्टिच्युटका अनुसन्धान टोलीले असामान्य सेक्स क्रोमोजोम भएका व्यक्तिहरूमा गरेको अध्ययनबाट थप वाई क्रोमोजोम (एक्सवाईवाई वा एक्सएक्सवाई) भएका व्यक्तिहरूमा अटिजमको सम्भावना दोब्बर हुने पत्ता लागेको छ । यसको विपरीत थप एक्स क्रोमोजोम हुनेमा भने अटिजमको कुनै जोखिम देखिएन । यसैगरी एक्सवाईवाई क्रोमोजोम भएका व्यक्तिहरूमा अटिजमको जोखिम एक्सएक्सवाई क्रोमोजोम भएकाहरूको तुलनामा अझ बढी रहेको पाइएको थियो । यसबाट महिलामा भन्दा पुरुषमा बढी अटिजमको जोखिम हुने पुष्टि हुन्छ ।

    यसैगरी जर्नल नेचर कम्युनिकेसनमा प्रकाशित एक अध्ययनले वाई क्रोमोजोमले अटिजमको जोखिम बढाउन सक्ने देखाएको छ । उक्त अध्ययनको नतिजा ‘फिमेल प्रोटेक्टिभ इफेक्ट’ नामक सिद्धान्तसँग मेल खान्छ, जसअनुसार एक्स क्रोमोजोमले महिलामा अटिजमको जोखिम घटाउँछ ।

    उक्त अध्ययनका अध्ययनकर्ताले वाई क्रोमोजोमसँग सम्बन्धित अटिजमको जोखिम कारकहरूको गहन अध्ययन हुनुपर्नेमा जोड दिएका छन् । साथै वाई क्रोमोजोमसँग जोडिएका विशेष अटिजम जोखिम कारकहरूको पहिचान गर्न थप अनुसन्धानको आवश्यकता भएको उनीहरूको भनाइ छ ।
    (एजेन्सीको सहयोगमा)

    यसमा तपाइको मत

    Facebook Comment