• ताजा समाचार, स्वास्थ्य/जीवनशैली

    स्वस्थ जीवनका लागि ‘मेडिटेरेनियन’ खाना

     111 Views
    स्वस्थ जीवनका लागि ‘मेडिटेरेनियन’ खाना

    अस्मिता सापकोटा

    काठमाडौँ, २ साउन । स्वास्थ्य जीवनको सबै भन्दा ठूलो सम्पत्ति हो । सन्तुलित आहार र पर्याप्त शारीरिक क्रियाकलाप स्वस्थ जीवनका लागि अत्यावश्यक हुन्छ । शरीरका सबै अंग तन्दुरुस्त राख्न जुनसुकै उमेर समूहका मानिसको लागि स्वस्थकर खाना महत्वपूर्ण हुन्छ । जीवनको उत्तराद्र्धतिर स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउँछन् । यद्यपि पोषणयुक्त खानाले उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र हृदय रोग जस्ता दीर्घकालीन समस्याको जोखिम कम गर्न मद्दत गर्छ ।

    हाइड्रोजेनेटेड आयल, हाइफ्रुक्टोज कर्न सिरप जस्ता अत्यधिक प्रशोधित पदार्थको प्रयोगबाट बनाइएका खानाले डिप्रेसन निम्त्याउन सक्ने एक अध्ययनले देखाएको छ । यसैगरी केही अध्ययनले स्वस्थकर खानाले डिमेन्सियाको जोखिम न्यूनीकरण गर्ने सम्भावना भएको समेत पुष्टि गरेका छन् ।

    स्वादिलो र स्वास्थ्यवद्र्धक खाना खाने हो भने मेडेटेरेनियन आहार (नेपालीमा यसको समानार्थी शब्द पाइएन, हिन्दीभाषीले भूमध्य आहार प्रयोग गरेको पाइन्छ) सेवन उत्तम तरिका भएको अमेरिकी पोषणविद् नताली ब्रुनर बताउँछिन् । मेडेटेरेनियन आहार÷डाइट (यसमा कहिले, कति र कसरी खाने भन्ने नियम हुन्छ, साथै क्यालोरीको हिसाबकिताब पनि राखिन्छ)को रूपमा चिनिए तापनि परम्परागत रूपमा यो आफँै डाइट भने होइन । यो एक जीवनशैली हो ।

    इटाली, ग्रीस, स्पेन र उत्तर अफ्रिकाका भूमध्य सागरको छेउछाउमा बसोबास गर्ने मानिसहरू खाने कुरामा बोटबिरुवामा आधारित वा मुटुलाई फाइदा गर्ने जैतूनको तेल जस्ता चिल्लो पदार्थमा जोड दिन्छन् । यसैगरी उनीहरुले गेडागुडी, ताजा फलफूल तथा तरकारीहरू, कुखुराको अण्डा तथा मासुका साथै सी फुड जस्ता प्रोटिनयुक्त खानाहरूमा पनि विशेष ध्यान दिन्छन् ।

    साल्मन जस्ता ओमेगा–३ फ्याटी एसिडको मात्रा धेरै भएको माछाले आथ्र्राइटिसको कारण हुने सूजन र दुखाइ कम गर्न मद्दत गर्छ । साथै यसले कोलेस्ट्रोलको मात्रा सन्तुलनमा समेत सहयोग गर्छ । यसै कारण उक्त आहारलाई उत्कृष्ट आहार मानिन्छ ।

    भूमध्य आहारमा पर्ने सबै खाना स्वस्थकर भएकाले यसमा डाइटिङ गर्नुपर्ने कुनै खानेकुरा नभएको बु्रनर बताउँछिन् ।

    खानालाई राम्रो वा नराम्रो वर्गमा छुट्याउँदा मानिसले कुनै खानालाई पूर्णतः निषेध गर्न सक्ने भएकाले आहार तथा पोषण विशेषज्ञहरूले खानाको यस्तो वर्गीकरण गर्न मन नपराउने उनको भनाइ छ । यसरी नै भूमध्य आहार पालना गर्नेहरुको बुढेसकालसम्म मस्तिष्क स्वस्थ हुने धेरै अध्ययनले देखाएको उनी बताउँछिन् ।

    भूमध्य आहार मोटोपनाको समस्या न्यूनिकरणको साथै जीवनशैली र आहारसँग सम्बन्धित टाइप टु डायबिटिज जस्ता रोगको रोकथामका लागि पनि प्रभावकारी छ । यसरी नै यस्तो आहारको सेवनले मुटुको समस्यालाई पनि न्यूनीकरण गर्ने केही अध्ययनले देखाएका छन् ।

    सन् २०२३ मा मेडिकल जर्नल हार्टले गरेको एक अध्ययन अनुसार भूमध्य आहार पालन गर्ने महिलाको तुलनामा अन्य महिलाहरूमा हृदय रोगको जोखिम २४ प्रतिशतले बढी देखिएको थियो । साथै उनीहरूमा मृत्युदरको जोखिम पनि २३ प्रतिशतले बढी हुने उक्त अध्ययनले देखाउँछ ।

    (एजेन्सीको सहयोगमा )

     

    यसमा तपाइको मत

    Facebook Comment