काठमाडौं, १९ कात्तिक । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले उपस्थित हुन बोलाएको छ । धार्मिक यात्राका सिलसिलामा काठमाडौं बाहिर रहेका शिवाकोटीलाई फोनमार्फत सम्पर्क गरी ब्युरोमा उपस्थित हुन भनिएको कांग्रेस मिडिया सेन्टरले जनाएको हो ।
साइबर ब्युरोको बोलावटपछि शिवाकोटीले आफू काठमाडौं फर्किरहेको र ब्युरोमा उपस्थित हुने बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया लेख्दै उनले प्रहरी लगाएर आफूलाई खोज्नुपर्ने अवस्था नरहेको उल्लेख गरे ।
उनले फेसबुकमा लेखेका छन्, ‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्नँ, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौँ आउँदै छु ।’
पछिल्लो केही दिनयता शिवाकोटीले सरकारमाथि विधि र विधानविपरीत काम गरेको आरोप लगाउँदै आएका छन् ।