काठमाडौं, १८ कात्तिक । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२६ को अन्त्यपछि अमेरिकाले इजरायललाई दिँदै आएको ४ अर्ब डलर सहयोग रोक्ने घोषणा गरेका छन् ।
मंगलबार फक्स न्युजसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले यस विषयमा आफूले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग सम्झौता गरिसकेको जानकारी दिएका हुन् ।
ट्रम्पले इजरायललाई दिइने अमेरिकी सहयोग डेमोक्र्याटहरूका लागि एक शक्तिशाली राजनीतिक मुद्दा बनेको बताए । उनले इजरायललाई सहयोगको आवश्यकता नै नभएको बेला मिसिगनकी डेमोक्रेटिक सेनेट उम्मेदवार अब्दुल अल–सयद जस्ता उम्मेदवारहरूका कारण रिपब्लिकनहरूले किन आलोचना सहनु पर्ने भन्दै प्रश्न गरे ।
“यो एउटा खराब राजनीतिक मुद्दा हो । जब मानिसहरूले सोध्छन्, ‘हामी किन सबैलाई ४ अर्ब डलर दिँदैनौँ ?’—इजरायल हाम्रो पहिलो प्राथमिकता हो, हामी उनीहरूलाई अरू कसैको तुलनामा बढी दिन्छौँ, र अब उनीहरूलाई यसको आवश्यकता छैन,’ उनले भने ।
सन् २०१८ मा सुरु भएको १० वर्षे समझदारी पत्रअन्तर्गत अमेरिकाले इजरायललाई वार्षिक ३.८ अर्ब डलर बराबरको सैन्य सहायता प्रदान गर्दै आएको छ, जुन सन् २०२८ मा सकिँदैछ । ट्रम्पले भने यसै वर्षको अन्त्यमा यसलाई समाप्त गर्ने सङ्केत गरेका छन् । इजरायलले उक्त सहायता रकम अमेरिकी हतियारहरू किन्न प्रयोग गर्न गर्छ, जसले गर्दा सो रकम अन्ततः अमेरिकी हतियार निर्माता कम्पनीहरूमै फिर्ता जान्छ ।
ट्रम्पले यदि इजरायललाई पैसा चाहिएको भए आफूले सहयोग निरन्तर राख्ने तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग “एउटा सहमतिमा पुगेको“ बताए ।
यो घोषणा—र ट्रम्पले यसलाई अमेरिकी राजनीतिसँग प्रत्यक्ष जोड्नु—ले इजरायलप्रतिको अमेरिकी सहयोग डेमोक्र्याट र रिपब्लिकन दुवैका लागि कति ध्रुवीकृत भइसकेको छ भन्ने देखाउँछ । यद्यपि, पूर्व अमेरिकी अधिकारीहरूले चुनावका दिन मतदाताहरूका लागि यो खबरले कुनै ठूलो फरक पार्नेमा आशङ्का व्यक्त गरेका छन् । यदि अमेरिकाले इरानविरुद्ध पुनः सैन्य कारबाही सुरु गर्यो भने, प्रशासनले वास्तवमै सैन्य सहायता रोक्छ कि रोक्दैन भन्नेमा पनि उनीहरूले प्रश्न उठाएका छन् । सहायता बजेट स्वीकृत गर्ने काम अमेरिकी कंग्रेस (संसद्) को हो ।
तर, ट्रम्पले इजरायललाई दिने सहायता अन्त्य गर्ने अचानक गरेको यो घोषणालाई इजरायलका लागि अमेरिकी सैन्य सहयोगको एउटा मुख्य आधार स्तम्भ हटाउने ठूलो कदमका रूपमा हेरिएको छ ।
यो घोषणा इजरायलको चुनाव भएको ठीक एक हप्तापछि आएको हो, जहाँ अमेरिकी राष्ट्रपति ट्रम्पले नेतन्याहूलाई पूर्ण समर्थन जनाएका थिए । ट्रम्पले नेतन्याहूलाई संयुक्त राज्य अमेरिकाले इजरायलबाट अपेक्षा गरे अनुसारको साझेदार भनेका थिए । तर उपराष्ट्रपति जेडी भान्सले उक्त समर्थन दोहोर्याएका थिएनन् ।