काठमाडौं, २२ भदौ । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा अमेजन एयरको बोइङ ७६७–३०० कार्गो विमान धावनमार्ग (रनवे) बाट बाहिरिएर दुर्घटनाग्रस्त हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन् ।
पोर्तो रिकोको सान हुआनस्थित लुइस मुनोज मारिन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको सो विमान स्थानीय समय अनुसार दिउँसोको करिब १४ः०० बजे दुर्घटनामा परेको हो । धावनमार्ग नाघेर विमानस्थलको उत्तर–पश्चिम छेउमा पुगेको विमानले जमिनमा रहेका केही सवारी साधनहरूलाई समेत ठक्कर दिएको थियो ।
मियामी–डेड काउन्टीकी मेयर डानिएला लेभिन काभाले आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमा घटनाको पुष्टि गर्दै उद्धार टोलीहरू केही सेकेन्डमै घटनास्थल पुगेको बताइन् । मियामीका फायर चीफ रायद जादाल्लाहका अनुसार घाइते पाँचमध्ये तीन जनाको अवस्था गम्भीर छ । सवारी साधनभित्र च्यापिएका केही घाइतेहरूलाई अग्निनियन्त्रकहरूले उद्धार गरी अस्पताल पु¥याएका छन् ।
घटनालगत्तै २०० भन्दा बढी अग्निनियन्त्रकहरू उद्धारमा खटिएका थिए । विमानमा लागेको आगो नियन्त्रणमा आइसके पनि घटनास्थलमा अझै इन्धन चुहावट भइरहेको जनाइएको छ ।
दुर्घटनाविपश्चात् सङ्घीय उड्डयन प्रशासनले विमानस्थलका सबै उडानहरू रोक्न आदेश दिएको थियो । ‘लेबर डे’ (मजदुर दिवस) को व्यस्त सप्ताहन्तमा भएको यस घटनाका कारण सयौँ उडानहरू रद्द वा ढिलाइ हुँदा यात्रुहरू समस्यामा परेका छन् ।
उडान ट्र्याकिङ साइट ‘फ्लाइटराडार२४’ का अनुसार उडान उपयोगी धावनमार्गबाट बाहिरिँदा ११२ नट्स (२०७ किमी÷घण्टा) को गतिमा थियो । दुर्घटनाको समयमा मियामीमा हल्का मेघगर्जन र हावाहुरी चलिरहेको थियो ।
अमेजन र विमान सञ्चालक कम्पनी ‘२१ एयर’ ले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय यातायात सुरक्षा बोर्ड (ल्त्क्द्य) ले दुर्घटनाको कारणबारे आधिकारिक अनुसन्धान सुरु गरेको छ ।