काठमाडौं, २२ भदौ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्काशन गरी बाँडफाँट सम्पन्न गरिसकेपछि आईपीओको दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि शेयर बिक्री खुला गरेको हो ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ लाख ६३ हजार २०० कित्ता शेयर निष्काशन गर्न लागेको हो । यसको कुल मूल्य ८ करोड ६३ लाख २० हजार रुपैयाँ रहेको छ ।
कम्पनीको जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत बराबर अर्थात् २० लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । यसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० लाख ४० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४ हजार कित्ता शेयर यसअघि नै निष्काशन तथा बाँडफाँट भइसकेको छ ।
त्यसैगरी, कम्पनीले आफ्ना कर्मचारीका लागि २० हजार ८०० कित्ता तथा सामूहिक लगानी कोषका लागि ५२ हजार कित्ता शेयर छुट्याएर बाँडफाँट गरिसकेको जनाएको छ ।
अब सर्वसाधारण लगानीकर्ताका लागि खुलेको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आईपीओमा आवेदन दिने अवधि छिटोमा भदौ २५ गतेसम्म कायम रहनेछ । सो अवधिसम्म मागअनुसार आवेदन नपरेमा ढिलोमा असोज ५ गतेसम्म निष्काशन खुला रहनेछ ।
आईपीओ निष्काशनअघि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।