बाढी प्रभावितका लागि ईयूले थप ८ करोड ९० लाख रुपैयाँ सहयोग गर्ने

अनलाइनसमय |
१८ भदौ २०८३
बाढी प्रभावितका लागि ईयूले थप ८ करोड ९० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं, १८ भदौ । युरोपेली संघ (ईयू)ले नेपालका बाढी प्रभावित समुदायका लागि थप ८ करोड ९० लाख रुपैयाँ (६ लाख ३० हजार युरो) बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ। पछिल्लो सहयोगसँगै नेपालमा बाढी विपद् प्रतिकार्यका लागि ईयूको कुल आपत्कालीन सहयोग ४४ करोड ५० लाख रुपैयाँ (२५ लाख युरो) भन्दा बढी पुगेको छ।

थप सहयोग अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी महासंघ (आईएफआरसी)को विपद् प्रतिकार्य आपत्कालीन कोष (डीआरईएफ) अन्तर्गत सञ्चालन हुने कार्यक्रममार्फत परिचालन गरिनेछ। नेपाल रेडक्रस सोसाइटीको नेतृत्वमा सञ्चालन हुने उक्त कार्यक्रमले बागमती प्रदेशका करिब ४ हजार परिवारका २० हजार जनासम्मलाई सहयोग गर्ने लक्ष्य राखेको छ।

कार्यक्रमअन्तर्गत आकस्मिक तथा संक्रमणकालीन आवास, नगद सहायता, खानेपानी तथा सरसफाइ, स्वास्थ्य सेवा, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग, संरक्षणलगायत अत्यावश्यक सहायता उपलब्ध गराइनेछ।

गत २६ अगस्टमा नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै घर, पूर्वाधार तथा अत्यावश्यक सेवामा व्यापक क्षति पुगेपछि नेपालले विपद् प्रतिकार्य जारी राखेको अवस्थामा ईयूले थप सहयोग घोषणा गरेको हो।

ईयूले नागरिक सुरक्षा संयन्त्रमार्फत राहत सामग्रीसमेत परिचालन गरिरहेको जनाएको छ। जर्मनी, लक्जेम्बर्ग, लाट्भिया र स्विडेनले आवास तथा सरसफाइ सामग्री, फोरेन्सिक उपकरणलगायत विभिन्न राहत सामग्री उपलब्ध गराउने भएका छन्।

यसैगरी, ईयूले काठमाडौंसम्म मानवीय सहायता सामग्री ल्याउन ‘ह्युम्यानिटेरियन एयर ब्रिज’ सञ्चालन गर्ने भएको छ। डेनमार्कको कोपनहेगनस्थित ईयूको आपत्कालीन भण्डारबाट ८० टनभन्दा बढी राहत सामग्री बोकेको विमान यसै साता काठमाडौं आइपुग्ने अपेक्षा गरिएको छ।

ईयू र उसका सदस्य राष्ट्र विश्वका प्रमुख मानवीय सहायता दातामध्ये पर्छन्। प्राकृतिक विपद् तथा द्वन्द्वबाट प्रभावित समुदायको आवश्यकता र मानवीय आधारमा ईयूले विभिन्न मुलुकमा राहत तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको छ।

यसअघि युरोपेली आयोगले आईएफआरसीको विपद् प्रतिकार्य आपत्कालीन कोष ९डीआरईएफ० लाई सहयोग गर्न १ करोड ६० लाख युरो बराबरको मानवीय सहायता सम्झौता गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस