काठमाडौं, २४ चैत । नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्र, सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास घुस रकमसहित पक्राउ परेका छन् ।
उनलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।
चार्जिङ स्टेशनका लागि ट्रान्सफर्मर जडान गरी लाइन उपलब्ध गराइदिने बहानामा उनले सेवाग्राहीसँग घुस माग गरेको उजुरी परेको थियो । त्यस आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ बाट चैत २३ गते नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको आयोगका सहायक प्रवक्ता अधिकारीले जानकारी दिए ।
