साना किसान सहकारीको कर्जाले उद्यम व्यवसायमा फड्को (भिडियो रिपोर्ट)

अनलाइनसमय |
२० चैत २०८२
साना किसान सहकारीको कर्जाले उद्यम व्यवसायमा फड्को  (भिडियो रिपोर्ट)

काठमाडौं, २० चैत । पछिल्लो समय नेपालीहरुमा घुम्ने संस्कृति बढेपछि आन्तरिक तथा स्थानीय पर्यटन गन्तव्यहरू चलायमान बन्दै गएका छन् । आन्तरिक पर्यटक आगमनले गुलजार बनेका धेरै ठाउँहरूमध्ये मकवानपुरको चित्लाङ पनि प्रसिद्ध गन्तव्य मानिन्छ । काठमाडौंबाट करिब २८ किलोमिटर दूरीमा पर्ने यो उपत्यकामा कृषि उत्पादन, प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरका कारण वर्षेनि हजारौं पर्यटक पुग्छन् ।

पर्यटकको आगमन बढेसँगै चित्लाङमा होमस्टे, रिसोर्ट तथा होटल व्यवसाय पनि विस्तार भइरहेको छ । रैथाने कृषि र पर्यटन व्यवसायको ठूलो सम्भावना भएको यस ठाउँमा साना किसान सहकारी संस्थाले वित्तीय साथ दिएपछि उद्यम व्यवसाय गर्न सहज भएको छ । संस्थाको यही सहायताले उद्यमी बनेका धेरै सदस्यमध्ये एक हुन्– होमस्टे व्यवसायी ईश्वरी बस्नेत ।

केही वर्षअघिसम्म ईश्वरीको पारिवारिक अवस्था निकै कमजोर थियो । सामान्य खेतीपातीले घरखर्च धान्न मुश्किल हुन्थ्यो । केही गरौं भन्दा गाउँमा सजिलै ऋण पाइँदैनथ्यो, पाइए पनि धितो चाहिन्थ्यो र ब्याज चर्को पथ्र्यो । खेतबारीमा तरकारी उत्पादन त हुन्थ्यो, तर सजिलै बिक्री गर्न सकिँदैनथ्यो ।

त्यतिबेला ईश्वरीका श्रीमान् ललितपुर महानगरपालिकामा नगर प्रहरीका रूपमा काम गर्थे । कहिलेकाहीँ फर्निचरको काम पनि गर्थे । तर त्यो आम्दानी परिवारको अवस्था उकास्न पर्याप्त थिएन ।

यसै क्रममा २०६८ सालमा गाउँमै ‘स्वच्छन्द साना किसान कृषि सहकारी संस्था’ स्थापना भयो । ईश्वरी सुरुदेखि नै संस्थाको सदस्य बनिन् । सहकारीमा आबद्ध भएपछि उनले पहिलोपटक २५ हजार ऋण लिएर तरकारी खेतीमा लगाइन् । केही वर्षसम्म उनले तरकारी खेतीमै प्रयास गरिन् । तर सोचेजस्तो प्रतिफल पाउन सकिएन ।

त्यसपछि ईश्वरीले गाउँमा बढ्दै गएको पर्यटन सम्भावनालाई पहिचान गरिन् । चित्लाङको प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति र खानपानले पर्यटकलाई आकर्षित गरिरहेको थियो । यही सम्भावनालाई ध्यानमा राख्दै उनले होमस्टे सञ्चालन गर्ने योजना बनाइन् । नयाँ व्यवसाय सुरु गर्दा चल्दैन कि भन्ने डर पनि उत्तिकै थियो । तर सहकारीको ऋण र साथले उनलाई हिम्मत दियो ।

होमस्टे उद्यमका लागि ईश्वरीले आफ्नै सहकारीबाट १७ लाखसम्म ऋण चलाइन् । अहिले सबै ऋण चुक्ता गरेर विनाधितोमा २ लाख चलाइरहेकी छन् । यो व्यवसायबाट मासिक १ लाख रुपैयाँसम्म आम्दानी हुन्छ, जसले समयमै साँवा, ब्याज र किस्ता तिर्न सहयोग गर्छ । होमस्टे व्यवसायले महिला उद्यमीको रूपमा चिनिएकी ईश्वरी आफ्नो विगतलाई फर्केर हेर्दा ठूलो फरक पाउँछिन् ।

साना किसान कृषि सहकारीको ऋण सहयोग, त्यसलाई सही ठाउँमा परिचालन र लगनशीलता ईश्वरीको व्यावसायिक सफलताका आधार हुन् । उनको होमस्टेमा आउने पाहुनाले खानाको स्थानीय परिकार, रैथाने स्वाद र स्वागत सत्कारका कारण आत्मीयता महसूस गर्छन् । सोही कारण यहाँ दोहोरिएर समेत पाहुना आउने गर्छन् ।

होमस्टेबाट भएको आम्दानीले ईश्वरीले केही जग्गा पनि जोडेकी छन् । सहकारीबाट थप ऋण लिएर ती जग्गामा कटेज बनाएर होमस्टे व्यवसायलाई विस्तार गर्ने योजना उनको छ ।

भनिन्छ, ‘शीप, योजना र लगनशीलता भए माटोमै पनि भविष्य उज्यालो बन्छ । हो, माटो अर्थात् कृषिकर्ममा भविष्य खोजिरहेका धेरै युवामध्ये चित्लाङका पुरुषोत्तम लामिछाने पनि एक हुन् । केही वर्षअघिसम्म पनि उनको दैनिकी सामान्य थियो । खेती गरेर घर चलाउँथे, त्यसभन्दा अरू खास केही थिएन ।

अभावको यो अवस्थामा २०६८ सालमा चित्लाङमै स्थापना भएको स्वच्छन्द साना किसान कृषि सहकारी संस्था पुरुषोत्तमका लागि कोसेढुंगा सावित भयो । उनी यस सहकारीको सदस्य बने । सहकारीकै पहलमा ‘लर्न एन्ड अर्न’ कार्यक्रमका लागि २०७५ सालमा इजरायल जाने अवसर पाए । जहाँको कृषि प्रणालीले उनको कृषिप्रति सोच नै बदलियो । नेपाल फर्केपछि उनले परम्परागत खेतीलाई आधुनिक, योजनाबद्ध, प्रविधिमैत्री र योजनाबद्ध ढंगले गर्ने सोच बनाए ।

पुरुषोत्तमले सहकारीबाट सुरुमा १० लाख ऋण लिएर तरकारी खेती सुरु गरे । अहिले उनी ५ रोपनी भाडामा र २ रोपनी आफ्नै जग्गामा खेती गर्छन् । १९ वटा टनेलमा गोलभेडा, भेडेखुर्सानी, काउली, मटरकोसा, बकुला लगायत सिजनअनुसारका तरकारी लगाइन्छ । सहकारीबाट उनले हाल १७ लाख ऋण चलाइरहेका छन् । नियमित बजार र गुणस्तरीय उत्पादनले उनलाई वार्षिक १० लाखसम्म आम्दानी दिलाएको छ ।

तरकारीको आम्दानीले उनको घरखर्च र पुनर्लगानीलाई सहज बनाएको छ । बर्खायाममा उत्पादन राम्रो हुन्छ भने हिउँदयाममा केही कमी आउँछ, त्यसैले उनी आर्थिक योजना पहिल्यै बनाउँछन् । टनेल खेती गर्न पहिलो वर्ष अलि बढी मेहनत गर्नु परे पनि त्यसपछिका वर्षमा सहज र लाभदायी बन्ने उनी बताउँछन् ।

पुरुषोत्तमले आफ्नो फार्ममा सिजनअनुसार स्थानीय रोजगारी दिँदै आएका छन् । सहकारीबाट कृषि तालिम लिई, व्यावहारिक ज्ञानको अनुभव सँगालेका छन् । मल्चिङ, टनेल व्यवस्थापन, बाली चक्र, रोग व्यवस्थापनमा सहकारीको सहयोग महत्वपूर्ण साबित भएको छ । उनका अनुसार कुनै पनि कर्जा लिएपछि सही ठाउँमा सदुपयोग गर्ने र समयमै तिर्ने जिम्मेवारी हुनुपर्छ ।

पुरुषोत्तम अहिले चित्लाङका उदाहरणीय कृषक मानिन्छन् । आफू यहाँसम्म आइपुग्नुमा साना किसान कृषि सहकारीको महत्वपूर्ण साथ सहयोग रहेको उनी सुनाउँछन् ।

चित्लाङ पर्यटकीय गन्तव्य भएकाले पुरुषोत्तम आगामी दिनमा कृषि र पर्यटनलाई सँगै अघि बढाउने योजनामा छन् । उत्पादित ताजा तरकारी र अन्य उत्पादनलाई पर्यटनसँग जोड्ने उनको सोच छ ।

स्वच्छन्द साना किसान कृषि सहकारी संस्था चित्लाङका कृषकका वित्तीय सारथि बनेको छ । संस्थामा १ हजार ५१ सदस्य छन् । जसमा ८७१ महिला र १८० पुरुष छन् । सहकारीले महिला प्राथमिकतामा राखेर विनाधितो २ लाख र धितोमा ५० लाखसम्म कर्जा दिँदै आएको छ । कुल लगानीको ६५ प्रतिशत कर्जा कृषि क्षेत्रमा र बाँकी वैदेशिक रोजगारी, साना व्यवसाय र लघु उद्यममा प्रवाह भएको छ ।

बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस