काठमाडौं, १७ चैत । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलबीच सोमबार भेटवार्ता भएको छ । गभर्नर पौडेलले प्रधानमन्त्री कार्यालयमै पुगेर शिष्टाचार भेट गरेको जनाइएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री बालेनले हाल बैंकिङ क्षेत्रमा देखिएका समस्या, रेमिट्यान्सको अवस्थालगायत बाह्य क्षेत्रका विषयमा चासो व्यक्त गरेका थिए ।
त्यसैगरी, नेपाल राष्ट्र बैंकले काम गर्दा भोगिरहेका चुनौती र ती समाधान गर्न सरकारबाट आवश्यक सहजीकरणका विषयमा पनि गभर्नर पौडेलले ध्यानाकर्षण गराएका थिए ।
भेटका क्रममा गभर्नरले लामो समयदेखि रिक्त रहेको डेपुटी गभर्नर पदको नियुक्ति चाँडो गर्नुपर्ने विषय पनि उठाएका थिए । करिब एक महिनादेखि उक्त पद खाली रहेको उल्लेख गर्दै उनले समयमै नियुक्ति भए काम गर्न सहज हुने बताएका थिए । तर, उक्त विषयमा प्रधानमन्त्रीले खासै प्रतिक्रिया नदिएको स्रोतले जनाएको छ ।
हाल नेपाल राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर पद गत चैत २४ गतेदेखि रिक्त छन् । प्रचलित व्यवस्थाअनुसार १८ जना कार्यकारी निर्देशकमध्येबाट चार जनाको नाम सिफारिस गरी तीमध्ये दुई जनालाई डेपुटी गभर्नरमा नियुक्त गरिन्छ ।