हिमालयन ब्रोकरेजको वित्तीय साक्षरता, विद्यार्थीलाई बचतदेखि लगानीसम्मको शिक्षा (भिडियो रिपोर्ट)
अनलाइनसमय |
१३ चैत २०८२
काठमाडौं, १३ चैत । संसारका सबैजसो मानिस आफ्नो सुरक्षित वित्तीय भविष्य चाहन्छन् । त्यसैले वित्तीय सुरक्षा आम चाहना मात्र होइन, आवश्यकता पनि हो । अब पक्कै प्रश्न उठ्न सक्छ– त्यो आवश्यकता पूरा गर्ने माध्यम के हो ? कसरी वित्तीय समृद्धि हासिल हुन सक्छ त ? हो, जीवनमा आर्थिक समृद्धि वा सुरक्षित वित्तीय भविष्यका लागि बचत, बीमा, लगानी लगायत माध्यम छन् । जसमध्ये लगानीलाई महत्वपूर्ण उपकरण मानिन्छ । लगानीका पनि धेरै क्षेत्र छन् ।
नेपालको सन्दर्भमा भने सानै उमेर, सानै लगानी र आधारभूत ज्ञानले पनि लगानी गर्न सकिने उपयुक्त क्षेत्र धितोपत्र बजार अर्थात् शेयर बजार रहेको छ । तर, अझै पनि धेरैलाई धितोपत्र बजारबारे थाहा नहुन सक्छ । थाहा भएकाहरूले पनि राम्ररी जाने बुझेर भन्दा, हल्ला, लहलहै वा अनुमानका भरमा लगानी गर्ने प्रवृत्ति देखिन्छ ।
यो अवस्थामा वित्तीय साक्षरता कार्यक्रमको आवश्यकता झन् झन् बढ्दै गएको छ । यही आवश्यकतालाई ध्यानमा विश्व लगानी सप्ताह, ‘ग्लोबल मनी विक’ जस्ता अभियानमार्फत बालबालिका र युवामा वित्तीय चेतना अभिवृद्धिका कार्यक्रम हुँदै आएका छन् । सोहीअनुसार यस वर्षको ग्लोबल मनी विकको अवसरमा हिमालयन ब्रोकरेज (ब्रोकर नं ६३)ले विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्जबाट अनुमति प्राप्त यस संस्थाले चैत ८ गते तिनकुनेस्थित पद्मश्री कजेलमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । सानै उमेरदेखि बचत गर्ने बानी विकास, धितोपत्र बजारमा लगानीका आधारभूत ज्ञान, जोखिम व्यवस्थापन तथा सचेत लगानी निर्णयबारे जानकारी दिनु कार्यक्रमको मूल उद्देश्य रहेको थियो ।
कार्यक्रममा संस्थाले विद्यार्थीलाई दैनिक जीवनमा पैसाको सही व्यवस्थापन, धितोपत्र बजार प्रवेशका लागि आवश्यक पर्ने बैंक तथा डिम्याट खाता, मेरो शेयर र दोस्रो बजारमा कारोबारका लागि टीएमएस खाता खोल्नुपर्ने विषयमा जानकारी गराइएको थियो । साक्षरताको विषय धितोपत्र बजारसम्बन्धी सैद्धान्तिक मात्र नभई व्यावहारिक ज्ञान, शीप र अभ्यासमा बढी केन्द्रित थियो ।
धितोपत्र बजारमा समय–समयमा उतारचढाव आउन सक्ने भएकाले लगानी गर्दा यथार्थ सूचना लिएर संयमित र विवेकशील भई लगानीको निर्णय लिनुपर्ने प्रशिक्षकको सुझाव थियो । बजारमा लगानी गर्नुपूर्व लगानीको उद्देश्य, समयावधि, अपेक्षित आम्दानी जस्ता विषयमा स्पष्ट भई धैर्य, लगनशीलता र अध्ययनसहित लगानी गर्नुलाई बुद्धिमानी मानिन्छ ।
साथै कुनै पनि लगानीमा प्रतिफलको अवसरसँगै जोखिम पनि हुने भएकाले जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्ने औंल्याइएको छ । जोखिम व्यवस्थापन र अपेक्षित प्रतिफल लागि लगानीको विविधीकरण अर्थात् फरक फरक क्षेत्र वा कम्पनीका धितोपत्रमा लगानी गर्नु उपयुक्त मानिन्छ । नवप्रवेशी लगानीकर्तालाई यस्ता विविध विषयबारे जानकारी संस्थाले दिन विगतदेखि नै वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
संस्थाले सञ्चालन गरेको साक्षरता कार्यक्रमबाट आफूहरूले धितोपत्र बजारबारे आधारभूत, अत्यावश्यक एवं महत्वपूर्ण ज्ञान, शीप हासिल गरेको सहभागी विद्यार्थीहरूले बताएका छन् । कार्यक्रमले दोस्रो बजारमा प्रवेश गर्न समेत प्रोत्साहन मिलेको उनीहरूको प्रतिक्रिया थियो ।
हिमालयन ब्रोकरेज कम्पनी २०७९ सालमा स्थापना भएको थियो । संस्थाले डिपोजिटरी सेवा, अनलाइन ट्रेडिङ, स्टक एनालिसिस सप्mटवेयर लगायत सेवासुविधाका साथै नयाँ र लक्षित वर्गका लगानीकर्ताका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
मुलुकका सबै किसिमका ग्राहकलाई धितोपत्र लगानीमा सहज पहुँच दिलाउने, वित्तीय सुरक्षाका लागि मार्गप्रशस्त गर्ने र विश्वसनीय लगानी साझेदार बन्ने हिमालयन ब्रोकरेजको आकांक्षा छ । यस्तै वित्तीय तथा लगानी अभ्यासमा सुधार, नियामकीय मूल्यमान्यताको परिपालनासहित व्यावसायिकता वृद्धि र अर्थतन्त्रको दिगो विकास हासिल गर्न सघाउने संस्थाको मूल उद्देश्य रहेको छ । धितोपत्र बजारमा डिजिटलाइजेसन, नवप्रवर्तन र पारदर्शी एवं प्रभावकारी सेवामार्फत पूँजी बजारप्रतिको विश्वास अभिवृद्धिमा संस्थाको अग्रणी भूमिका रहँदै आएको छ ।
बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो