काठमाडौं, ८ चैत । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो, जसमध्ये ७ करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ७ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो । सो शेयर खरिदका लागि सिन्धुपाल्चोक जिल्लाका जुगल गाउँपालिका वडा नं. १, २, ३, ४, ५, ६ र ७ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
यस्तै, २ लाख १० हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको छ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरूले अधिकतममा ७ हजार र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले २१ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन ्। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा चैत २२ गते र ढिलोमा २०८३ बैशाख ७ गते हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गते हुनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।