काठमाडौं, ५ चैत । रूसले जापानलाई आफ्नो विगतबाट पाठ सिक्दै संविधानमा उल्लेखित शान्तिवादी सिद्धान्तहरू पालना गर्न आग्रह गरेको छ । रूसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले बुधबार यस्तो चेतावनी दिएकी हुन् ।
नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले जापानले पछिल्लो समय पुनः सैन्यीकरणतर्फ कदम चालिरहेको आरोप लगाएकी छन् । उनका अनुसार जापानले क्रुज मिसाइलजस्ता आक्रमणात्मक हतियार खरिद गरिरहेको छ, त्यसलाई जाखारोभाले रक्षात्मक हतियारको रूपमा वर्गीकृत गर्न नसकिने बताइन् ।
जाखारोभाले जापानको बढ्दो सैन्य खर्चप्रति पनि चिन्ता व्यक्त गर्दै यस्तो कदमले छिमेकी देशहरूको सुरक्षामा खतरा उत्पन्न गर्न सक्ने बताइन् । रूसले यसअघि पनि यस्ता गतिविधिले विनाशकारी परिणाम ल्याउन सक्ने भन्दै जापानलाई पटक–पटक चेतावनी दिएको उनले स्मरण गरिन् ।
उनका अनुसार जापानका नीतिहरूले एशिया–प्रशान्त क्षेत्रमा तनाव बढाउँदै क्षेत्रीय तथा विश्वव्यापी स्थिरतामा नकारात्मक असर पारिरहेका छन् । यसले नयाँ हतियार प्रतिस्पर्धाको अवस्था सिर्जना गर्न सक्ने खतरा रहेको उनको भनाइ छ ।
जाखारोभाले थप चेतावनी दिँदै यदि रूसी भूभागतर्फ नयाँ मिसाइल खतरा देखा परेमा रूसले त्यसको प्रतिकार गर्ने र आफ्नो रक्षा क्षमता सुदृढ गर्न आवश्यक कदम चाल्ने स्पष्ट पारेकी छन् ।