काठमाडौं, ४ चैत । मध्यपूर्व क्षेत्रमा जारी युद्धले विश्व बजारमा प्रत्यक्ष असर पार्न थालेको छ । ऊर्जा आपूर्ति, तेल मूल्यमा उतारचढाव र अन्तर्राष्ट्रिय व्यापार मार्गमा अवरोधका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्दै गएको देखिएको हो ।
एएफपीका अनुसार बुधबार अन्तर्राष्ट्रिय तेल बजारमा अस्थिरता देखियो । इरानले छिमेकी तेल उत्पादक देशहरूलाई लक्षित गरी आक्रमण गरेपछि अघिल्लो दिन बढेको मूल्य घट्दै वेस्ट टेक्सास इन्टरमिडियेट करिब ९३ डलर आसपास झर्दा तीन प्रतिशतभन्दा बढीले गिरावट आयो भने ब्रेन्ट कच्चा तेल पनि दुई प्रतिशतभन्दा बढीले घटेको छ । विश्लेषकहरूले होर्मुज जलडमरूमध्यमा थप तनाव बढे विश्व ऊर्जा लागत तीव्र रूपमा उकालो लाग्न सक्ने चेतावनी दिएका छन् । यो मार्गबाट विश्वको करिब पाँचौँ हिस्सा तेल तथा ग्यास आपूर्ति हुन्छ ।
ऊर्जा आपूर्तिमा जोखिम बढेसँगै विभिन्न देशहरूले वैकल्पिक स्रोत खोज्न थालेका छन् । दक्षिण कोरियाले होर्मुज मार्ग प्रयोग नगरी संयुक्त अरब इमिरेट्सबाट थप एक करोड ८० लाख ब्यारेल तेल आयात गर्ने निर्णय गरेको छ । त्यस्तै, आपूर्ति विविधीकरणतर्फ अन्य देशहरू पनि केन्द्रित हुन थालेका छन् ।
इरानले जलमार्गमा नियन्त्रण गर्दै आफ्ना सहयोगी देशका जहाजलाई प्राथमिकता दिन थालेको सङ्केत देखिएको छ । इराकले आफ्ना केही तेल ट्याङ्कर होर्मुज हुँदै पठाउन इरानसँग समन्वय गरिरहेको जनाएको छ । इरानी नेताहरूले यो जलडमरूमध्य अब सहज अवस्थामा फर्किन कठिन हुने चेतावनी दिएका छन् ।