काठमाडौं, ४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज नवनिर्वाचित सांसदहरुका लागि जारी रहेको आवासीय अभिमुखीकरणमा सम्बोधन गर्ने भएका छन् ।
ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा जारी कार्यक्रममा आज सभापतिको सम्बोधनको तालिका छ। मंगलबार उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले कार्यक्रम उदघाटन गरेका थिए । आज लामिछानेको सम्बोधनसागै उक्त कार्यक्रम समापन हुन्छ ।
कार्यक्रममा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका रास्वपा सांसदहरु सहभागी छन् । गत फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिक निर्वाचन प्रणालीबाट थप ५७ सांसद पाएको छ ।
दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अवलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइनेछ ।