काठमाडौं, २ चैत । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र स्वास्थ्य बीमा बोर्डबीच राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमार्फत विद्युतीय सेवा प्रयोग सम्बन्धी समझदारी भएको छ ।
राष्ट्रिय परिचयपत्रमा रहेको विवरण र नम्बरलाई स्वास्थ्य बीमा प्रणालीमा आबद्ध गर्ने गरी दुई निकायबीच समझदारी–पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरे र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण प्रसाद पौडेलले हस्ताक्षर गरेका छन् ।
यससँगै अब नागरिकले राष्ट्रिय परिचय नम्बरमार्फत स्वास्थ्य बीमा प्रणालीमा डिजिटल रूपमा पहिचान प्रमाणीकरण गर्न सक्नेछन् । यसले बीमा दर्ता, नवीकरण र सेवा प्राप्तिको प्रक्रिया छिटो, सरल र सुरक्षित बनाउने बोर्डको अपेक्षा छ ।