काठमाडौं, २ चैत । गत आर्थिक वर्ष (आव) २०८१/८२ को आठ महिनाको तुलनामा चालू आवको यसै अवधिमा आएको वैदेशिक लगानी प्रतिबद्धता ८ दशमलव ९५ प्रतिशतले घटेको छ ।
उद्योग विभागका अनुसार चालू आव २०८२/८३ को फागुनसम्ममा नेपालमा स्वचालित प्रणाली (अटोमेटिक रूट) र अप्रुभल रूटमार्फत ४० अर्ब ६६ करोड ६९ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । गत आवको सोही अवधिमा यस्तो प्रतिबद्धता ४४ अर्ब ६६ करोड ६० लाख रुपैयाँ आएको थियो ।
फागुनसम्ममा अप्रुभल रूटबाट सबैभन्दा धरै विदेशी लगानी प्रतिबद्धता आएको छ । सो अवधिमा अप्रुभल रूटबाट १७७ उद्योगका लागि ३७ अर्ब २३ करोड १४ लाख रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ । त्यस्तै अटोमेटिक रूटबाट ३७७ उद्योगका लागि ३ अर्ब ४३ करोड ७९ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ ।
चालू आवको फागुनसम्ममा ५३७ वटा साना उद्योग ८८ वटा मझौला र ठूला ठूला उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । सो आवधिमा प्राप्त प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा २१ हजार ४९५ जनाले रोजगारी पाउनेछन् ।
आईटी क्षेत्रमा १.३० अर्ब लगानी प्रतिबद्धता
परियोजनाको हिसाबले सबैभन्दा धेरै सूचना प्रविधि (आईटी) क्षेत्रमा लगानी प्रतिबद्धता आएको छ । विभागका अनुसार फागुनसम्ममा आईटी क्षेत्रका ३०७ उद्योगमा १ अर्ब ३० करोड ६४ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । गत आवमा यस क्षेत्रमा १५४ उद्योगका लागि ९५ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको थियो ।
लगानी रकमको हिसाबले भने सबैभन्दा धेरै कृषि क्षेत्रमा छ । चालू आवको फागुनसम्मा यस क्षेत्रमा १४ उद्योगका लागि २१ अर्ब ९० करोड ८० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।
त्यस्तै पर्यटन क्षेत्रमा ११ अर्ब २० लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यो प्रतिबद्धता भित्रिए पर्यटन क्षेत्रका १५५ उद्योग स्थापना हुने छन् । फागुनमा सेवामुलक क्षेत्रमा ३ अर्ब ६२ करोड, उत्पादनमुलक क्षेत्रमा २ अर्ब ५२ करोड ५६ लाख, उर्जामुलक क्षेत्रमा १८ करोड ४२ लाख र खनिजतर्फ ११ करोड ५० लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।