काठमाडौं, २७ फागुन । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि खुला गरेको प्रारम्भिक शेयर निष्काशन (आईपीओ)मा आवेदन दिने समय थपिएको छ । कम्पनीका अनुसार इच्छुकले चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन् । तर मागभन्दा बढी आवेदन आएको खण्डमा भने कम्पनीले कुनै पनि बेला सूचना प्रकाशित गरी आवेदन बन्द गर्न सक्नेछ ।
कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँमध्ये २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको छ । यसमा ५ करोड ५० लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार कित्ता साधारण शेयर विशेषगरी आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि छुट्याइएको हो ।
आईपीओ आवेदनका लागि दोलखा जिल्लाका बिगु गाउँपालिका वडा नं. ८ र कालिन्चोक गाउँपालिका वडा नं. १ र २ का बासिन्दाले आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ ।
आईपीओ निष्काशनको लागि गरिएको मूल्याङ्कनमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको दायित्व पूरा गर्ने क्षमता औसत जोखिममा रहेको संकेत गर्दछ ।