काठमाडौं, १७ फागुन । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको शेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्रीमा ल्याएको हो ।
कम्पनीले आफ्नो ९८ करोड रुपैयाँ जारी पूँजीको ३२.६५ प्रतिशत बराबर ३२ करोड रुपैयाँको ३२ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये ९ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि, २ लाख २२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि तथा १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँट गरिसकिएको छ ।
अब कम्पनीले कर्मचारीका लागि ४४ हजार ४०० कित्ता छुट्याई बाँकी रहेको १८ लाख ४२ हजार ६०० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । यस शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ, जसअनुसार कुल १८ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबरको शेयर बिक्री खुला गरिएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ भने आवश्यक परेमा निष्काशन चैत १ गतेसम्म लम्बिन सक्नेछ ।
कम्पनीको आईपीओ मूल्याङ्कनमा इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी’ प्रदान गरेको छ । यस रेटिङ्गले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ ।