काठमाडौं, १० फागुन । नासाले आफ्नो बहुप्रतीक्षित चन्द्र अभियान ‘आर्टेमिस–२’ को मार्च ६ मा तय गरिएको प्रक्षेपण मिति स्थगित गरेको छ । अन्तिम चरणको नियमित परीक्षणका क्रममा प्राविधिक समस्या देखिएपछि उक्त मिति रद्द गरिएको हो ।
शुक्रबारसम्म नासाले केही हप्ताभित्रै प्रक्षेपण हुन सक्ने संकेत दिएको थियो, तर शनिबार नासाका प्रशासक जारेड आइज्याकम्यानले थप मर्मतसम्भार आवश्यक भएकाले तत्काल प्रक्षेपण सम्भव नभएको जानकारी दिए ।
५० वर्षभन्दा बढी समयपछि मानवसहित चन्द्रमाको परिक्रमा गर्ने यो पहिलो मिशन थियो ।
चार जना अन्तरिक्षयात्रीलाई चन्द्रमाको टाढाको भागसम्म १० दिनको यात्रामा पठाउने तयारी गरिएको छ । यो यात्रा मानव इतिहासकै सबैभन्दा टाढाको अन्तरिक्ष यात्रा हुने बताइएको छ ।
नासाले प्रक्षेपणपूर्व गरिएको ‘वेट रिहर्सल’ अभ्यास सफल भएको जनाएको थियो, सो अभ्यासमा करिब ५० घण्टा परीक्षण गरिएको थियो र कुनै ठूलो त्रुटि भेटिएको थिएन ।
नासाले “वेट रिहर्सल” (प्रक्षेपणपूर्व इन्धन भर्ने अभ्यास) सफल भएको ठानेको थियो, जसका आधारमा मार्च ६ मै प्रक्षेपण हुन सक्ने घोषणा गरिएको थियो । तर शुक्रबार राति इन्जिनियरहरूले प्रक्षेपण प्रक्रियाका लागि आवश्यक हेलियम ग्यासको प्रवाहमा अवरोध देखिएको थियो ।
नासाका अनुसार हेलियम इन्धन ट्याङ्कीमा चाप सन्तुलन मिलाउन र रकेट प्रणाली चिसो राख्न प्रयोग गरिन्छ । त्यसैले यसको आपूर्तिमा समस्या देखिनु गम्भीर प्राविधिक विषय मानिन्छ ।
यो परीक्षण फ्लोरिडाको केनेडी स्पेस सेन्टरमा वैज्ञानिकहरूको दोस्रो अभ्यास प्रयास थियो । यसअघि फिल्टर र सिलमा समस्या देखिँदा हाइड्रोजन चुहावट भएपछिसुधार गरिएको थियो ।
बिहीबार करिब ७ लाख ३०,००० ग्यालोन इन्धन भरेर अभ्यास गरिएको थियो । टोलीले उक्त अभ्यासलाई “उडानको अधिकार कमाउने दिशामा ठूलो कदम” भनेको थियो ।
तर अन्तरिक्ष अभियानहरूमा यस्ता अवरोध सामान्य हुने भन्दै आइज्याकम्यानले १९६६ मा नील आर्मस्ट्रङको जेमिनी–८ मिसन प्राविधिक समस्याका कारण समयअघि नै अन्त्य भएको उदाहरण दिएका थिए । त्यसको तीन वर्षपछि उनले ऐतिहासिक चन्द्र अवतरण गरेका थिए ।
तीन अमेरिकी अन्तरिक्षयात्री—रिड वाइसम्यान, भिक्टर ग्लोभर र क्रिस्टिना कोच—र एक क्यानाडेली अन्तरिक्षयात्री जेरेमी ह्यान्सन यो शक्तिशाली चन्द्र रकेटमार्फत प्रस्थान गर्ने तयारीमा छन् । उनीहरूले चन्द्र सतहलाई नजिकबाट अध्ययन गर्ने अवसर पाउनेछन् ।
यदि यो मिसन सफल भयो भने यसले आर्टेमिस–३ मिसनका लागि मार्ग प्रशस्त गर्नेछ, जसमा १९७२ पछि पहिलो पटक अन्तरिक्षयात्रीले पुनः चन्द्रमामा पाइला टेक्नेछन् । नासाले सन् २०२८ भित्र चन्द्र अवतरण गर्ने लक्ष्य राखेको छ, तर यो समयसीमा महत्वाकांक्षी हुन सक्ने स्वीकार गरेको छ ।